सीआईबीसँग धनराजको निरन्तर ५ घण्टा बयान

  २०८१ कार्तिक २९ गते ११:१३     विकासन्युज

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ । सीआईबीले बुधबार कार्यालयमै बोलाएर उनीसँग बयान लिएको बुझिएको हो ।

उनीसँग सीआईबीका अनुसन्धान अधिकृतहरूले चार/पाँच घण्टासम्म बयान लिएको बुझिएको छ ।

सीआईबीले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरिरहेको छ । मितेरी सहकारी संस्थामा रकम अपचलन भएका विषयमा उजुरी परेपछि सीआईबीले अनुसन्धान थालेको सीआईबीको भनाइ छ । सीआईबी स्रोतका अनुसार अनुसन्धानको क्रममा गुरुङसँग पनि बयान लिइएको हो ।

धनराजकी पत्नी ज्योति गुरुङ पदाधिकारी रहेको मितेरी सहकारीमा सर्वसाधरणको १४ करोड रुपैयाँ अपचलन भएको संसदीय छानबिन समितिको पनि निष्कर्ष छ ।

सीआईबीमा परेको जाहेरीमा धनराज र पत्नी ज्योतिले १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि यो ठगीमा धनराजको पनि संलग्नता रहेको बयान दिएका छन् ।

धनराजले भने २०७७ मै आफूले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेद गरिसकेकोले त्यसमा आफ्नो संलग्नता नरहेको बयान दिएको बुझिएको छ । उनले ज्योतिको गल्तिमा आफूलाई नजोड्न आग्रह गरेको पनि बुझिएको छ ।

अहिले धनराजको श्रीमती ज्योति फरार छिन् । धनराजले कागजीरूपमा मात्रै ज्योतिसँग सम्बन्ध विच्छेद गरेको विषय पनि चर्चामा छ ।

…त्यसपछि सुरु भयो धनराजमाथिको खोजतलास

सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म