रिलायन्स र वाल्ट डिज्नीबीच मर्जर : ७० हजार करोड कम्पनीको नेतृत्व नीताले गर्ने, तीन जना सीईओ

  २०८१ कार्तिक ३० गते ११:५७     विकासन्युज

काठमाडौं । रिलायन्स इन्डस्ट्रिज (आरआईएल) र वाल्ट डिज्नीबीच मर्जर भएको छ । दुबै कम्पनीले मर्ज गरेर ७० हजार ३५२ करोड भारुको ठूलो कम्पनी गठन गरेका छन् ।

यस सम्झौतामा रिलायन्सले ११ हजार ५०० करोड भारु लगानी गरेको छ । नीता अम्बानी यस नयाँ उद्यमको मुख्य व्यक्ति हुनेछिन् । उद्योगपति तथा अर्बपति मुकेश अम्बानीकी पत्नीले अध्यक्षको रूपमा कम्पनीको कामकाजको हेरचाह गर्न लागेकी हुन्।

संयुक्त उद्यमको नेतृत्व तीन सीईओहरूले गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केभिन भाजले सबै प्लेटफर्महरूमा मनोरञ्जन संस्थाको नेतृत्व गर्नेछन् । किरण मणिले संयुक्त डिजिटल संगठनको कार्यभार सम्हाल्ने बताइएकाे छ । संयुक्त खेलकुद संगठनको नेतृत्व सन्जोग गुप्ताले गर्नेछन् । सँगै उनीहरूले उद्योगमा नयाँ मापदण्डहरू पनि बनाइने जनाइएकाे छ ।

गत वर्षको नोभेम्बरमा यो सम्झौता घोषणा गरिए पनि अहिलेमात्र सम्झौता सम्पन्न भएको हाे । यस संयुक्त उद्यममा रिलायन्स इन्डस्ट्रीजको १६.३४ प्रतिशत, भायाकम १८ को ४६.८२प्रतिशत र डिज्नीको ३६.८४ प्रतिशत रहेको छ ।

मिडिया र मनोरञ्जन क्षेत्रमा हंगामा

१०० भन्दा बढी टीभी च्यानलहरू, ३० हजार घण्टाभन्दा बढी मनोरञ्जन सामग्री र पाँच करोडभन्दा बढी दर्शकहरूको पहुँचको साथ यो उद्यमले मनोरञ्जन उद्योगमा हंगामा मच्चाउने गरी तयारी गरिरहेकाे छ । यस सम्झौताको बारेमा मुकेश अम्बानीले भने, ‘यो संयुक्त उद्यमको गठनसँगै भारतीय मिडिया र मनोरन्जन उद्योग परिवर्तनकारी युगमा प्रवेश गर्दैछ।’

उनले थपे, ‘डिज्नीसँगको संयुक्त उद्यमको भविष्यको बारेमा म धेरै उत्साहित छु ।’

अनगिन्ती मनोरञ्जनको विकल्प

यस नयाँ उद्यमको गठनले दर्शकहरूलाई विभिन्न मनोरञ्जन विकल्पहरू प्रदान गर्नेछ । जिओसिनेमा र हटस्टारजस्ता प्लेटफर्महरू दर्शकहरूमाझ पहिले नै लोकप्रिय छन् । अब यो सम्झौतापछि अझ उत्कृष्ट सामग्री देख्न सकिने अनुमान गर्न सकिन्छ । यस उद्यमसँग क्रिकेट र फुटबल जस्ता खेलहरूको प्रसारण अधिकार पनि हुने बताइएकाे छ ।

रिलायन्स र डिज्नी बीचको यो संयुक्त उद्यमले भारतीय मनोरन्जन संसारमा नयाँ अध्याय कोरेको छ । यो नयाँ उद्यमले अब के गर्छ र यसले दर्शकहरूलाई कसरी लोभ्याउँछ भनेर हेर्न समय नै कुर्न पर्ने हुन्छ । ( एजेन्सीकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.