२०८१ कार्तिक ३० गते १२:५९ विकासन्युज
काठमाडौं । विश्वको ३५ प्रतिशत जनसंख्या भारत र चीनमा बसोबास गर्दछन् । यी दुई देशले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिमा ५० प्रतिशत योगदान दिने अनुमान गरिएको छ । यही कारण सारा विश्वकाे नजर यी दुवै मुलुकमा छ ।
यस सन्दर्भमा सिंगापुरकी सिनियर विदेश मन्त्री सिम एनको बिहीबारको भनाइ निकै महत्त्वपूर्ण छ । उनले दक्षिणपूर्वी एसियाली क्षेत्रको भारत र चीन दुवैसँग बलियो सम्बन्ध हुनुपर्नेमा जाेड दिएका थिइन् ।
एशियाको विकासमा यी दुवैको भूमिका निकै महत्त्वपूर्ण छ । सिंगापुरको नेसनल युनिभर्सिटीमा आयोजित कार्यशालामा सिम एनले सो कुरा बताएका हुन् । यस कार्यशालाको विषय ‘चीन र भारतः विश्व अर्थतन्त्रलाई आकार दिने दुई ठूला देश’ थियो ।
कार्यशालामा विज्ञहरूले चीन र भारतको बढ्दो विश्वव्यापी प्रभावबारे छलफल गरेका थिए । क्रयशक्तिका आधारमा विश्वको पहिलो र तेस्रो ठूलो अर्थतन्त्र भएकाले यी दुई देशको विश्वमा गहिरो प्रभाव रहेको विदेशमन्त्री एनले बताइन् ।
विश्वव्यापी आर्थिक वृद्धिमा ५० प्रतिशत योगदान हुने
विश्वको ३५ प्रतिशत जनसंख्या चीन र भारतमा बस्छन् । सन् २०२४ सम्ममा विश्वव्यापी आर्थिक वृद्धिमा उनीहरूको योगदान ५० प्रतिशत हुने अनुमान गरिएको छ । इस्ट एसियाली इन्स्टिच्युट (ईएआई)का निर्देशक अल्फ्रेड शिप्केले भने, ‘चीन र भारत विश्वव्यापी आर्थिक परिदृश्यमा महत्त्वपूर्ण स्तम्भको रूपमा उभिएका छन् ।’
यसैबीच दक्षिण एसियाली अध्ययन संस्थान (आईएसएएस)का निर्देशक इकबाल सिंह सेभियाले ‘डिजिटलाइजेशन र हरित अर्थतन्त्रमा संक्रमणको भविष्यका लागि भारत र चीन दुवै महत्त्वपूर्ण रहेकाे बताए ।
यो कार्यशालाको आयोजना सिंगापुरको नेसनल युनिभर्सिटी (एनयूएस) मा रहेको पूर्वी एसियाली संस्थान (ईएआई) र इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज (आईएसएएस) ले संयुक्त रूपमा गरेको हो ।
विज्ञहरूका अनुसार समग्र विश्वव्यापी प्रणालीको विकास भइरहेको छ । भारत र चीनले विश्व अर्थतन्त्रको भविष्यलाई आकार दिनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.