मस्कको ‘एक्स’ विरुद्ध अर्बपतिले हाले मुद्दा, के हो विवाद ?

  २०८१ कार्तिक ३० गते १३:३७     विकासन्युज

काठमाडौं । युरोपका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टले एलन मस्कको ‘एक्स’ (पुरानो ट्वीटर) विरुद्ध मुद्दा दायर गरेका छन् । आफ्नो अखबारको सामग्री एक्सले बिना भुक्तानी प्रयोग गरिरहेको दाबी अर्नाल्टको छ ।

‘ले पेरिसिएन’ र ‘लेस इकाेज’ नामक दुई फ्रान्सेली पत्रिका अर्नाल्टले चलाउँदै आएका छन् । दुवै पत्रिका अर्नाल्टको  लक्जरी साम्राज्य एलभीएमएचअन्तर्गत रहेका छन् ।

बेलायती पत्रिका ‘टेलिग्राफ’को रिपोर्टअनुसार दुई फ्रान्सेली पत्रिका ‘ले पेरिसियन’ र ‘लेस इकोस’ यस मुद्दाको हिस्सा हुन् । दुई अन्य दैनिकह ‘ले फिगारो’ र ‘ले मोन्डे’ ले पनि मुद्दालाई समर्थन गरिरहेका छन् ।

अर्बपति अर्नाल्टले यी समाचारपत्रहरूलाई २०१९ को युरोपेली निर्देशनअनुसार भुक्तानी दिनुपर्ने दाबी गर्छन् । यी निर्देशनहरूले पत्रपत्रिका, म्यागजिन वा प्रेस एजेन्सीहरूलाई उनीहरूको सामग्री पुन: प्रयोग गरेबापत पारिश्रमिक प्राप्त गर्न अनुमति दिन्छ ।

रिपोर्टका अनुसार गुगल र मेटाको विपरीत एक्स फ्रान्सेली समाचार प्रकाशकहरूसँग वार्ता गर्न कहिल्यै सहमत भएकाे छैन । यो मुद्दाले विश्वका दुई धनी व्यक्तिहरूलाई अदालतमा आमनेसामने खडा गर्ने आँकलन गर्न सकिन्छ ।

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार हाल ३१९ अर्ब डलरको कुल सम्पत्तिका साथ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । योसँगै बर्नार्ड अर्नाल्ट १६४ अर्ब डलरको सम्पत्तिसहित विश्वको पाँचाैं र युरोपका सबैभन्दा धनी व्यक्ति हुन् ।

अर्नाल्टको सम्पत्ति घट्यो, मस्क बढ्यो

ब्लूमबर्गका अनुसार अर्नाल्टको सम्पत्तिमा वार्षिक रूपमा ४३.४ बिलियन डलरले गिरावट आएकाे छ । यसको विपरीत सूचकांकअनुसार मस्कको सम्पत्ति वार्षिक रूपमा ९०.० बिलियनले बढेको छ ।

रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अमेरिकी चुनावमा फेरि जित हासिल गरेसँगै मस्ककाे भाग्य पुन: चम्केकाे हाे । मस्कले ट्रम्पको पक्षमा खुलेर समर्थन गरेका थिए ।

पेरिस न्यायिक अदालतले एक्सलाई टेलिरामा, कुरिअर इन्टरनेशनल, ले हफिङ्टन पोस्ट, मालेशेर्बेस पब्लिकेशन्स र ले नोवेल ओब्स लगायतका फ्रान्सेली प्रकाशकहरूको समूहलाई व्यापार डेटा उपलब्ध गराउन बाध्य पारेको दुई महिनापछि मुद्दा आएको हो ।(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.