२०८१ कार्तिक ३० गते १५:२९ विकासन्युज
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरुलाई सफल हुन दिन नहुने बताए । संविधानको मर्म र भावना विपरित संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरितर्फ लैजाने प्रयासका बिरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औंल्याए ।
विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए । देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा शतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
‘हाम्रो अगाडि मैले जहिले पनि आज भोलि भन्ने गरेको कुरा के छ भने हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामी भित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ’, उनले भने ।
अध्यक्ष दाहालले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरु गम्भीर हुन जरुरी रहेको बताए । आफूले केही नराम्रा काम गरेको स्वीकार गरेको पनि जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.