२०८१ कार्तिक ३० गते १७:४० विकासन्युज
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पिन संस्थाले लक्ष्य हासिल गर्न संस्थासँग सन्तुष्ट कर्मचारी हुन जरुरी रहेको बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सवको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले बैंकको व्यवस्थापक तथा सञ्चालकहरूलाई सुझाव दिँदै बैंकको संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीलाई सन्तुष्ट बनाएर राख्नुपर्ने धारणा व्यक्त गरे । यसका साथै उनले कर्मचारीहरूसँग पनि सन्तुष्ट ग्राहक हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा बैंकका कर्मचारी यूनियनका अध्यक्षहरूले व्यवस्थापक र सञ्चालकहरूको कार्यशैलीप्रति प्रश्न उठाएका थिए । यूनियनका अध्यक्षहरूले व्यवस्थापक र सञ्चालकहरूका विषयमा प्रश्न उठाउँदै असन्तुष्ट व्यक्त गरेका थिए । यसैगरी, उनीहरूले बैंकमा कर्मचारीको अभाव, सेवा सुविधा कम, संगठन र व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने, सरुवा बढुवामा सबै कर्मचारीहरूलाई एकै प्रकारले गर्नुपर्ने, लगायतका विषयमा व्यवस्थापक र सञ्चालकको ध्यानाकर्षण गराएका थिए । यसका साथै सरकारी बैंकमा केही कानुनीरूपमा रहने झन्झटका विषयमा पनि उनीहरूले गभर्नरमार्फत अर्थमन्त्रीलाई ब्रिफिङ गर्न अनुरोध गरेका थिए ।
गभर्नर अधिकारीले उक्त आफ्नो सम्बोधनका क्रममा यूनियनले राखेका कुराहरूको पनि जवाफ दिएका थिए । सोही क्रममा उनले कर्मचारीलाई सन्तुष्ट बनाए मात्र लक्ष्य पुरा गर्न सकिने सुझाव दिएका हुन् ।
‘अन्य १९ वटा बैंकसँग नेपाल बैंकले प्रतिष्पर्धा गर्नुपर्छ । यसरी प्रतिष्पर्धा गर्न र लक्ष्य हासिल गर्न कर्मचारीलाई सन्तुष्ट बनाएर अघि बढ्नु पर्दछ,’ गभर्नर अधिकारीले थपे, ‘कर्मचारीले पनि ग्राहकलाई सन्तुष्ट बनाउनु पर्दछ ।’
यसैगरी, कार्यक्रममा बोल्दे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तीलकराज पाण्डेयले बैंकको हालको अवस्था र भावी योजनाको बारेमा सारांसमा उल्लेख गरेका थिए । सोही क्रममा उनले बैंकको खराब कर्जा वृद्धिलाई पुस मसान्तसम्म नियन्त्रण गर्ने बताए । उनले असोजको दोस्रो साता आएको अविरल वर्षा र त्यसले उत्पन्न गरेको बाढी-पहिरोबाट देशमा ठुलो धनजनको क्षति पुगेको उल्लेख गर्दै त्यस विपदको घडीमा सबै व्यवसायीहरूलाई असर परेको बताए । त्यसकारण पनि बैंकको खराब कर्जा बढेको उनको भनाइ छ ।
उनका अनुसार हाल बैंकको खराब कर्जा २.८ प्रतिशत रहेको छ । पुस मसान्तसम्म यसलाई घटाउने उनको अठोढ रहेको छ ।
यसैगरी, सीईओ पाण्डेयले अहिले लगानीको सुवर्ण अवसर भएकाले उद्योगी व्यवसायीहरुलाई लगानी गर्न सुझाव दिए । बैंकको व्याजदर एकल अंकभन्दा निकै तल झरेको, तरलता प्रसस्त रहेको र अन्य बाह्य क्षेत्र पनि मजबुद रहेकाले अहिलेको समय लगानी गर्ने समय भएको उनको भनाइ छ ।
कार्यक्रममा विभिन्न १२ वटा ब्रान्चलाई सम्मान गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा आयोजित खेलका विजेता र उपविजेता टोलीहरूलाई पनि सम्मान गरिएको थियो । गभर्नर अधिकारीले उक्त पुरष्कृत ब्रान्च र टिमलाई पनि शुभकामना दिएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.