२०८१ कार्तिक ३० गते १८:१९ विकासन्युज
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको दाबी गरेका छन् ।
भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप कांग्रेसको सभापतिसमेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए ।
महामन्त्री शर्माले ऊर्जा राज्यमन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्यमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरे । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्शन’कम्पनीसँगको आवद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टिकरण दिए ।
उनले पार्टीले विश्वास गरेर पठाएर नै कानुनअनुसार राज्यमन्त्री भएको उल्लेख गरे । उनले देशको कानुनले आवद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेशमा फर्कनसक्ने बताए ।
उनले भने,‘कान्छाराम कन्स्टङ्क्शन प्रालिमा मैले दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको थिएँ । म अहिले पार्टीले पठाएर अहिले सरकारको ऊर्जा राज्यमन्त्री छु । कानुनभन्दा ठूलो केही छैन । कानुनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेशा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु ।’
मन्त्री तामाङले २०७९ को सांसदको टिकट पाउनुभन्दा पहिला कम्पनीबाट निस्किएकाेमा जाेड दिए । उनले भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्न मागसमेत गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.