बाढीको क्षति दिँदा ४ बीमा कम्पनी घाटामा, ८६ प्रतिशत घट्यो निर्जीवन बीमाको नाफा

  २०८१ मंसिर १ गते १३:४१     विकासन्युज

काठमाडौं । तीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ८६ प्रतिशत अर्थात् १ अर्ब २ करोड ४९ लाख रुपैयाँ घटेको हो । गत वर्षको असोजमा १ अर्ब १९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका बीमा कम्पनीले यसपटक भने १६ करोड ६५ लाख रुपैयाँमा झरेको हो ।

समीक्षा अवधिमा देशले प्राकृतिक विपत्ति बाढी पहिरोको सामना गर्नु परेको थियो । जसको प्रत्यक्ष असर कम्पनीहरूको नाफामा परेको बताइएको छ । बाढी पहिरोको कारण वीमतिहरुलाई दाबी भुक्तानी गर्दा कम्पनीको नाफामा असर परेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू बताउँछन् ।

समीक्षा अवधिमा आधा दर्जन निर्जीवन बीमा कम्पनीको मात्रै नाफा बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै नाफा सानिमा जिआईसी इन्स्योरेन्सको बढेको छ । सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ५०.५९ प्रतिशत बढेर ५ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २३.७२ प्रतिशतले बढेर ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, आइजिआई प्रुडेन्सियलको नाफा १९.५० प्रतिशत बढेर ६ करोड १० लाख रुपैयाँ गरेको हो । गत वर्षको असोजमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गत असोजसम्म राष्ट्रिय बीमा कम्पनीको १३.७३ प्रतिशत बढेर १५ करोड ७६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १०.५४ प्रतिशत बढेर ५ करोड ६० लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको २.५० प्रतिशत बढेर ११ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गत वर्षको सोही अवधिमा राष्ट्रि बीमाले १३ करोड ७६ लाख रुपैयाँ, प्रभुले ५ करोड ६ लाख रुपैयाँ र शिखरले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा विभिन्न ४ कम्पनीको नाफा घटेको छ भने ४ कम्पनीले नोक्सानी बेहोरेका छन् । एनएलजी इन्स्योरेन्सको नाफा ४.९६ प्रतिशत घटेर ४ करोड ८९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १९.९६ प्रतिशत घटेर ७ करोड ४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५४.३० प्रतिशत घटेर ६ करोड ४० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको ९२.८८ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

तर, यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, दि. ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले खुद नोक्सानी बेहोरेका छन् । ओरिएण्टल इन्स्योरेन्सले २४ करोड ५१ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, गत वर्षको असोजमा २१ करोड ६० लाख रुपैयाँ नाफा गरेको नेशनल इन्स्योरेन्सले १८ करोड ३ लाख घाटामा बेहोरेको छ ।

समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ८ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।

यूनाइटेड अजोड इन्स्योरेन्स १ करोड ८१ लाख रुपैयाँ घाटामा छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.