२०७३ फागुन ११ गते १७:३५ विकासन्युज
काठमाडौं । निर्माण आरम्भ भएर पनि सम्पन्न नभएको ओखलढुंगास्थित लिखु खोलाको सिरिसे पुल चाँडै निर्माण हुने भएको छ । ओखलढुंगा क्षेत्र नम्बर २ का सांसद रामहरी खतिवडा र स्थानियको पहलमा लामो समयदेखि निर्माण रोकिएको पुल अब निर्माण आरम्भ भएको हो ।
सांसद खतिवडाले डिभिजन सडक कार्यालय ओखलढुंगाका डिभिजन इञ्जिनियर राकेश महर्जन, ठेकेदार र स्थानिय बासिन्दाको उपस्थितीमा गरेको वृहत छलफलपछि पुल निर्माणले गति लिएको हो । भ्याट बाहेक ५ करोड ८६ लाख लागतका सो पुल निर्माण सम्बन्धी सम्झौतामा २०६९ असार ३४ हस्ताक्षर भएको थियो ।
२ आर्थिक बर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलको हालसम्म ५० प्रतिशत काम मात्रै भएको छ । ‘२० हजार ओखलढुंगा बासीको जीवनसँग जोडिएको सिरिसे पुलको निर्माण अब चाँडै सकिन्छ, अब म आफैं ढुंगा बोक्न आउनु पर्छ भने पनि तयार छु तर पुल निर्माण हुन्छ’, सांसद खतिवडाले भने ।
उनले पुल निर्माणमा संकटकाल घोषणा गरेर काम अघि बढाउने र सबै खाले अवरोध चिर्न आफु तयार रहेको स्पष्ट पारेका थिए । पुलको माथी राखिने स्टिल स्टल ट्रसको डिजाइन भर्खरै पास भएको छ । चीतवनस्थित जलप नेपालले त्यसको निर्माण गरिरहेको छ । १८० टन तौलको पुलको तौल अहिले बढेर १९५ टन पुर्याइएको छ ।
दोलखाको ओम वुद्ध जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । सांसद खतिवडाले आगामी दशैंमा पुल तयार भैसक्ने गरि काम गर्न निर्देशन पनि दिए । अन्य तीन वटा पुलको निर्माण गरिरहेको कम्पनीले भने आगामी फागुनमा पुल तयार पार्ने बताएको छ ।
स्थानिय बासिन्दा जीत बहादुर रोक्काले ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई भएको आरोप लगाए । त्यस्तै, अर्का स्थानिय देवेन्द्र पौडेलले पनि ठेकेदारको लापरवाही नै पुल निर्माणमा ढिलाईको कारण भएको बताए । केहि स्थानिय डनहरुको अवरोधनले पनि पुल निर्माणलाई पछि धकेलेको आरोप लगाए ।
गाम्नाङटार, टार केराबारी, येसम, श्रीचौर, पोकली, नर्वदेश्वर लगायत १४ गाबिसका २० हजार नागरिकको जीवनस्तर उकास्न सो पुलले सहयोग पुर्याउने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.