मस्कको बाटोमा पर्खाल बने भारतीय अर्बपति अम्बानी, के हो विषय ?

  २०८१ मंसिर २ गते १७:२८     विकासन्युज

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी र विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आमुन्नेसामुन्ने भएका छन् । रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का प्रमुख अम्बानीले  मस्कको स्टारलिंक र अमेजनको कुइपरलाई स्याटेलाइट ब्रोडब्यान्ड स्पेक्ट्रम दिनुअघि प्रशासनिक विधिमा आपत्ति जनाएका हुन् । रिलायन्सले स्पेक्ट्रम बाँडफाँड लिलामीमार्फत गर्नुपर्ने भनेको छ ताकि भारतीय कम्पनीहरूले यसमा बराबरीकाे मौका पाउन सकून् ।

ज्योतिरादित्य सिन्धियालाई लेखिएको पत्र

रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीले टेलिकम नियामक ट्राई र केन्द्रीय दूरसञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियालाई पत्र लेखेर यस विषयमा हस्तक्षेप गर्न अनुरोध गरेका छन् । रोयटर्सको रिपोर्टअनुसार अम्बानीले स्पेक्ट्रम बाँडफाँडको प्रशासनिक विधिमा आपत्ति जनाएका छन् । स्पेक्ट्रम बाँडफाँड लिलामीमार्फत हुनुपर्ने उनी र एयरटेलका सुनिल मित्तलको विश्वास छ ।

अर्कोतर्फ, स्टारलिंकका सीईओ मस्कले लिलामीको विरोध गरेका छन् । स्याटेलाइट ब्रोडब्यान्ड स्पेक्ट्रममा व्यक्तिगत वा घरेलु उपयोगकर्ताहरूकाे लागि हाल कुनै प्रावधान छैन ।

के भन्छ रिलायन्स ?

लिलामी प्रक्रियाले आन्तरिक टेलिकम कम्पनीहरूलाई अन्तर्राष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर दिने रिलायन्सले जनाएको छ । यो उद्योगको हितमा हुनेछ । रिलायन्सले अहिले अनिश्चितताको वातावरण रहेको बताएको छ । स्पेक्ट्रम बाँडफाँडमा प्राथमिकता दिए पनि कुनै पनि स्वदेशी कम्पनीले आफ्नै उपग्रह स्टेशनहरू भने स्थापना गर्ने अवसर पाउने छैनन् ।

केन्द्र सरकारले स्याटेलाइट ब्रोडब्यान्ड स्पेक्ट्रमको बाँडफाँड प्रशासनिक रूपमा गरिने र लिलामी नहुने स्पष्ट पारेको छ । तर, सरकारले नि:शुल्क नहुने पनि उल्लेख गरेकाे छ ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि मस्कको हैसियत बढेको बेला यो घटनाक्रम बाहिर आएको हो । उनलाई सरकारी दक्षता विभाग (डीओडीजीई) को जिम्मेवारी दिइएको छ । मस्कले चुनावी अभियानमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका थिए । (एजेन्सीकाे सहायतामा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4