२०८१ मंसिर २ गते १७:०९ विकासन्युज
काठमाडाैं । जीवन बीमा कम्पनीहरूबीच प्रतिसेयर आम्दानी (ईपीएस) बढाउन प्रतिस्पर्धा चलेको छ । अहिले जीवन बीमा कम्पनीहरुको औसत ईपीएस ११.९५ रुपैयाँ हुँदा तीन वटा कम्पनीबीच ठूलो प्रतिस्पर्धा देखिएको छ ।
कम्पनीहरूको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार १३ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै ईपीएस रिलायबल लाइफ इन्स्योरेन्सको छ । रिलायबलको ईपीएस १७.१९ रुपैयाँ रहेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको ईपीएस १६.७८ रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको ईपीएस १५.६४ रुपैयाँ रहेको छ ।
यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको ईपीएस १३.३ रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको १२.६६ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ईपीएस ११.८८ रुपैयाँ रहेको छ ।
तथ्यांकअनुसार सबैभन्दा कम ईपीएस राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ । सो कम्पनीको ईपीएस ५.०१ रुपैयाँ रहेको छ ।
यस्तै, जीवन बीमा कम्पनीहरूको औसत प्रतिसेयर नेटवर्थ १४८.९९ रुपैयाँ रहेको छ । जसमध्ये सबैभन्दा धेरै एलआईसी नेपालको रहेको छ । सो कम्पनीको नेटवर्थ २२८.४६ रुपैयाँ रहेको छ । २०० रुपैयाँभन्दा बढी नेटवर्थ हुने एलआईसी नेपाल एक्लो जीवन बीमा कम्पनी हो । अन्य कम्पनीहरूको नेटवर्थ २०० भन्दा कम रहेको छ ।
नेटवर्थ धेरै हुने कम्पनीको दोस्रो नम्बरमा सिटिजन लाइफ रहेको छ । सिटिजनको नेटवर्थ १८०.१३ रुपैयाँ रहेको छ भने सन नेपालको १६३.८२, रिलायबल नेपालको १६२.९९ र आईएमई लाइफको १५०.६६ रुपैयाँ रहेको छ ।
सानिमा रिलायन्स लाइफको नेटवर्थ सबैभन्दा कम रहेको छ । सो कम्पनीको नेटवर्थ ११२.४१ रुपैयाँ रहेको छ ।
सेयर बजारका लगानीकर्ताले कम्पनीको ईपीएस हेरेर नै बढी लगानी गर्ने गरेका छन् । जुन कम्पनीको बढी ईपीएस छ, सोही कम्पनीको सेयर खरिदमा लगानीकर्ता बढी प्राथमिकता दिने गर्छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.