शंकास्पद बैंकिङ कारोबारमा १९-२४ उमेरका विद्यार्थी सक्रिय, यसरी फस्टाइरहेको छ ठगी धन्दा

  २०८१ मंसिर २ गते १६:१२     विकासन्युज

काठमाडौं । शंकास्पद कारोबारमा विद्यार्थीहरू बढी सक्रिय भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले १९-२४ उमेरका युवा शंकास्पद कारोबारमा बढी सक्रिय भएका हुन् ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले रणनीतिक विश्लेषण प्रतिवेदन २०२४ सार्वजनिक गर्दै साइबर प्रविधिमा आधारित ठगीमा सो उमेर समूहका युवाहरू बढी संलग्न भएकाे देखिएकाे हाे ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० (१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकमार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार राष्ट्र बैंकले प्रतिवेदन सरकारसमक्ष पेस गरेको हो ।

प्रतिवेदनमा साइबर इनेबल फ्रड्सका विशेषता र सोमार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै, प्रतिवेदनमा ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर अपराधसम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ ।

अधिकांश शंकास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शंकास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा उपहार, पार्सल, सामाजिक सञ्जाल, गलत अनलाइन बिजनेस प्लेटफर्मलगायतको प्रयोग भएको पाइएको छ ।

साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरीवेक्षकीय निकायलाई आवश्यक सुझावहरू पनि सिफारिस गरिएको छ ।

प्रतिवेदनको अनुसूचीमा सूचक संस्थाका लागि साइबर प्रविधिमा आधारित ठगीसम्बन्धी रेड फल्यागको सूची प्रस्तुत गरिनुका साथै उक्त ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4