२०८१ मंसिर ३ गते १०:४३ सीआर भण्डारी
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा होटल कम्पनीहरूको नाफा घटेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको खुद नाफा १३ प्रतिशत घटेर १२ करोड ७७ लाख रुपैयाँ मात्रै आर्जन गरेका हुन् । जबकि गत वर्षको असोजमा ६ वटा होटलको नाफा १४ करोड ६८ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा पर्यटकीय व्यावसायिक गतिविधि तथा क्रियाकलापहरूमा वृद्धि भएको दाबी गरिए पनि नाफामा भने संकुचन आएको देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार तीन महिनामा हवाईमार्गबाट मात्रै ३ लाख ५८ हजार १७ विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने पर्यटकहरूमध्ये भारतीय पर्यटक पहिलो स्थानमा रहेका छन् भने चिनियाँ पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।
चन्द्रागिरी हिल्सले तीन महिनामा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले १९.४५ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
बाढी पहिरोका कारण भ्रमणमा आउने पर्यटकहरूको संख्यामा करिब दुई सातासम्म उल्लेख्य कमी आएको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीका अधिकांश बुकिङ्गहरू समेत रद्द भएका थिए । तर पनि कम्पनीले नाफा बढाउन सफल भएको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९९ प्रतिशत घटेर १९ करोड ५८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २० करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी ५.६९ प्रतिशत घटेर १६ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको अन्य आम्दानी ८७.६६ प्रतिशत घटेर ७ लाख ५४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६१ लाख ९ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो ।
असोजसम्म कम्पनीको कुल खर्च ४.०६ प्रतिशत घटेर ७ करोड ५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपेयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ३३ लाख रुपैयाँबाट घटेर ४ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ ।
१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने ४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २७ पैसा बढेर १.६६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.०६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५६.६५ गुणा रहेको छ ।
कम्पनीका अनुसार स्थलमार्गबाट भारतीय र बंगलादेशका पर्यटकहरूको उल्लेख्य मात्रामा आवागमन भएको छ । पर्यटकको आवागमनले कम्पनीका सेवाको उपभोगमा समेत वृद्धि भएको बताइएको छ ।
सोल्टी होटलले तीन महिनामा १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १८.३४ प्रतिशत नाफा बढेको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा अनावश्यक तथा तत्कालका लागि आवश्यक नभएका व्यावसायिक खर्चहरूमा कटौती गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.६९ प्रतिशत बढेर ५१ करोड ४३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको कुल खर्च २९.२३ प्रतिशत बढेर ३६ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड १ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
९१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा सञ्चित नाफा १ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २४.९७ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४१४.९५ गुणा रहेको छ ।
समीक्षा अवधिमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक एयरलाइन्सहरूका अन्तर्राष्ट्रिय हवाई उडानका गतिविधिहरू नियमित रूपमा सञ्चालनमा रहेकाले होटेलमा पर्यटक आगमनको अवस्था सन्तोषजनक रहेको कम्पनीको भनाइ छ ।
तारागाउँ रिजेन्सी होटल्सले तीन महिनामा ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ३.५२ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८.५० प्रतिशत बढेर २७ करोड ५२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड २२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ५४ लाख रुपैयाँ र कुल आम्दानी १४.७० प्रतिशत बढेर ३० करोड ६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९ड लाख रुपैयाँ अन्य आम्दानी र २६ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन खर्च १६ करोड २० लाख रुपैयाँ र प्रशासनिक खर्च ५ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ अन्य खर्च र ६ करोड ३९ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको थियो ।
१ अर्ब ९६ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९६ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.३३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.१९ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६७.८१ गुणा रहेको छ ।
होटलका अनुसार नेपालको सुधारोन्मुख राजनीतिक तथा पर्यटकीय आगमनका साथै पर्यटक क्षेत्रमा पनि तारे होटलहरूको संख्यामा भएको वृद्धिले व्यावसायिक प्रतिस्पर्धा सिर्जना छ । हालको अवस्थामा यस होटलले व्यावसायिक प्रतिस्पर्धामा आफूलाई सबल राखेको र आगामी समयमा पनि कडा व्यावसायिक प्रतिस्पर्धालाई सामना गर्न थप आवश्यक पूर्वाधारहरूको निर्माणमा होटल सक्रियतापूर्वक लागेको कम्पनीको भनाइ छ । साथै, त्रिभुवन विमानस्थल १० घण्टाका लागि बन्द हुँदा त्यसको प्रभाव होटलमा पर्ने सक्ने बताइएको छ ।
ओरियण्टल होटलले तीन महिनामा ३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ९७.४८ प्रतिशत घटेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २१ करोड ७ लाख रुपैयाँ, अन्य आम्दानी ५८ लाख रुपैयाँ र कुल आम्दानी २१ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड १४ लाख रुपैयाँ सञ्चालन आम्दानी, १ करोड ४१ लाख रुपैयाँ अन्य आम्दानी र २२ करोड ५६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको कर्मचारी खर्च ८ करोड २१ लाख रुपैयाँ, प्रशासन तथा सामान्य खर्च ४ करोड ७० लाख रुपैयाँ, वित्तीय खर्च ८५ लाख २० हजार रुपैयाँ र कुल खर्च २० करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ कर्मचारी खर्च, ३ करोड ९९ लाख रुपैयाँ प्रशासन तथा सामान्य खर्च, १ करोड २४ लाख रुपैयाँ वित्तीय खर्च र १९ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
१ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ रहेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २४३.५९ रुपैयाँ छ ।
नयाँ होटलहरू सञ्चालनमा आएका र पुराना होटलहरूले रिनोभेसन गर्दै लगेका छन् । तर, यस होटलले सोहीअनुसार रिनोभेसन नगरेको हुँदा कोठा आम्दानीमा ह्रास आएको कम्पनीको भनाइ छ । साथै यस अवधिमा विवाह, ब्रतबन्धनजस्ता लगन र साइत कम भएका र कर्मचारी तथा अन्य खर्चहरूमा वृद्धि भएका कारण कम्पनीको आम्दानीमा ह्रास आएको कम्पनीको भनाइ छ ।
सिटी होटलले तीन महिनामा ५ करोड ६२ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पानीले ७ करोड ७७ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो ।
यस अवधिमा होटलको सञ्चालन आम्दानी ४.८५ प्रतिशत घटेर ११ करोड २ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा होटलले ११ करोड ५९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
होटलको कुल आम्दानी १.०४ प्रतिशत घटेर १३ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको वित्तीय खर्च १५.२७ प्रतिशत घटेर ७ करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड १ लाख रुपैयाँ वित्तीय खर्च गरेको थियो ।
होटलको कुल खर्च ७.०६ प्रतिशत बढेर ९ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्ममा होटलको प्रतिसेयर आम्दानी ३.३६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९०.४९ रुपैयाँ रहेको छ ।
कालिञ्चोक दर्शनले असोजसम्म ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा बेहोरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेर ४४ लाख ६५ हजार रुपैयाँ, सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेर २० लाख २० हजार रुपैयाँ गरेको छ भने सञ्चालन नाफा ५७ लाख २१ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ४५ लाख ६१ हजार रुपैयाँ, सञ्चालन आम्दानी ४१ लाख १० हजार रुपैयाँ थियो भने सञ्चालन नाफा ६८ लाख १ हजार रुपैयाँ ऋणातमक थियो ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च ५२.०८ प्रतिशत घटेर २८ लाख २८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५९ लाख २ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो । ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.४४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९९.३२ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.