२०८१ मंसिर ३ गते १४:२८ विकासन्युज
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको तीस करोड रुपैयाँको आईपीओ जारी गर्ने भएकाे हाे ।
कम्पनीको आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण कार्य अघि बढाउनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि सम्झौतापत्रमा प्रभु केवलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्माले हस्ताक्षर गरे ।
प्रभु केवलकारको लगानीमा तीनवटा केवलकार परियोजना अगाडि बढेका छन् । जसमध्ये बुटवलमा गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र पाल्पाको नुवाकोटगढी जाने सिद्धार्थ केवलकार परियोजना गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आइसकेका छन् । उक्त केवलकारबाट छोटो समयमा नै ७५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले यात्रा गरिसकेका छन् ।
केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्छ, जहाँ राजा मणिमुकुन्द सेनको दरबार, सांस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिकलगायत विभिन्न पुरातात्विक सम्पदासमेत रहेका छन् ।
त्यस्तै, प्रभु केवलकारको लगानीमा सुदूरपश्चिमस्थित बाजुराको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ ।
प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्कासनका लागि यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५ करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ ।
प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड स्थापित भएकाे थियाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.