गुरुङ, श्रेष्ठ र राणा मिलेर बनाउने होटलको निर्माण सुरु, दरबारमार्गमा यस्तो बन्दैछ २५ तले होटल

  २०८१ मंसिर ३ गते १४:५४     विकासन्युज

काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा अन्नपूर्ण स्क्वायर निर्माण थालेका हुन् । उक्त स्थानमा पहिला होटल अन्नपूर्ण रहेको थियाे ।

सोमबार एक विशेष समारोहकाबीच भूमिपूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए ।

‘भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ,’ उनले भने, ‘दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौं । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।’

अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ, जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । कम्तीमा पनि ६ अर्ब रुपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ ।

‘सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौं,’ भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘२०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले पुरानो संरचना भत्काइरहेका छौं । नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौं ।’

साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए ।

‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,’ गुरुङले भने, ‘साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ । धेरै राम्रा कोठा हुनेछन् तर महंगा होइनन् । मूल्य रिजनेबल हुन्छ ।’

आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.