सुन धितो राखेर कुन बैंकले कति दिन्छ ऋण ? यस्तो छ प्रक्रिया

  २०८१ मंसिर ३ गते १७:१८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा ठूलो उतारचढाव आइरहेको छ । लामो समय बढेर केही दिनअघि मात्रै घट्न थालेको सुन पुनः बढ्न थालेको छ । सोमबारमात्रै सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो ।

सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भयो । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसरी सुनको मूल्यमा उतारचढा आइरहँदा सुनलाई धितोका रूपमा बैंकमा राखेर ऋण लिनेहरू पनि धेरै छन् । बैंक तथा वित्तीय संस्थाले पनि सुनलाई धितोका रूपमा राखेर ऋण दिइरहेका हुन्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले सुन तथा चाँदीमा ५५ अर्ब ६० करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले सो लगानी गरेका हुन् ।

सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने सुनमा लगानी बढाएका छन् । यो अवधिसम्म नेपाल बैंकले २३ अर्ब ८३ करोड ४० लाख रुपैयाँ सुनमा लगानी गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ८१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । यी दुई सरकारी बैंकबीच लगानीमा ठूलो प्रतिस्पर्धा देखिन्छ ।

यस्तै, यो अवधिमा प्राइम कमर्सियल बैंकले ६ अर्ब ७३ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८७ करोड ४० लाख, लक्ष्मी सनराइजले ७२ करोड, सिटिजन्सले ६९ करोड ७० लाख, नबिलले ६२ करोड र माछापुच्छ्रेले १६ करोड ६० लाख रुपैयाँ सुनमा लगानी गरेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार प्रभुले ७ करोड ६० लाख, एनआईसी एशियाले २ करोड २० लाख, कृषि विकासले १ करोड ६० लाख, सिद्धार्थले १ करो २० लाख, कुमारीले २० लाख, सानिमाले साढे ८ लाख र एनएमबिले करिब ७ लाख रुपैयाँ लगानी गरेको छ ।

तथ्यांकअनुसार आधा दर्जन बैंक्ले भने सुन कर्जा दिएका छैनन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन, नेपाल एसबिआई, एभरेष्ट र ग्लोबल आइएमई बैंकले सुन कर्जा प्रवाह गरेका छैनन् ।

राष्ट्र बैंकका अनुसार सन् २०२४ को हालसम्म बैंक तथा वित्तीय संस्थाले कुल ६० अर्ब ७१ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् भने २०२३ मा ५५ अर्ब ५३ करोड ३० लाख र सन् २०२२ मा ५२ अर्ब ७८ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।

नेपाल राष्ट्र बैंकले गत असोजमा एकीकृत निर्देशन जारी गर्दै सुनचाँदी धितोमा ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले यस्तो कर्जामा एकल ग्राहक कर्जा सीमा ताकेको थियो । यो व्यवस्थाले पनि बैंकहरूले सुनधितो कर्जा उल्लेख्य रूपमा बढाएका छैनन् ।

कसरी लिने सुन कर्जा ?

सुन कर्जा लिनका लागि अन्य कर्जा लिएसरह नै प्रक्रिया अपनाउनु पर्ने हुन्छ । सुनलाई धितोको रूपमा राखेर बैंकबाट कर्जा लिनेले सम्बन्धित बैंकमा कर्जाको फारम भर्नु पर्ने हुन्छ ।

कर्जा लिन चाहनेले आफ्नो तीन पुस्तेसहितको विवरण फारममा ऋण लिन चाहनुको उद्देश्य, धितो राख्ने सुनको परिमाण र कर्जा रकम लगायतका विवरण भर्नु पर्ने हुन्छ । बैंकले धितोको सुनको निश्चित परिमाण ऋण दिने गरेका छन् । बैंकले धितोको अधिकतम् ८० प्रतिशत ऋण दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.