२०८१ मंसिर ४ गते २०:२१ विकासन्युज
काठमाडौं । प्रहरीले विवादित व्यवसायीको छवि बनाएका दुर्गा प्रसाईंलाई दोस्रो पटक पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । साइबर अपराध गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरीले उनलाई मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । दुई महिनाअगाडि पनि उनी साइबर कसुरमा पक्राउ परेका थिए । उनको यो सोही मुद्दामा पक्राउ परेको दोस्रो पटक हो । प्रहरीले यसलाई पटके अपराधको रुपमा अनुसन्धान अगाडि बढाएको हो ।
यसअघि एकजना महिलाको उजुरीका आधारमा पक्राउ भएका उनी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्याम्बोडियामा लगानी गरेको भ्रामक कागजात सार्वजनिक गरेपछि पक्राउ भएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार प्रसाईँले क्याम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली) बराबरको सेयर रहेको उल्लेख गर्दै पत्रकार सम्मेलनको आयोजना नै गरेका थिए ।
प्रसाईंले बहालवाला प्रधानमन्त्रीविरुद्ध अपुष्ट तथा भ्रामक विषय सार्वजनिक गरेका कारण साइबर अपराध गरेको देखिएको भन्दै पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।
प्रसाईँमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा गैरकानुनी विषय प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.