२०८१ मंसिर ५ गते १५:२८ विकासन्युज
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याइएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजो नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो ।
प्रसाईंले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति आएसँगै उनी पक्राउ परेका हुन् । ओली र प्रसाईं कुनैबेला निकै निकट मानिन्थे ।
यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य टीका संग्रौला लगायतको चरित्र हत्या गरेको आरोपमा गत असोजमा पक्राउ परेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.