२०८१ मंसिर ५ गते १६:०१ विकासन्युज
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्न विस्तृत परियोजना अध्ययन (डिपीआर) को लागि इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई दिएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रहेको हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्नको लागि डिपीआर गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
डिपीआर सम्झौता पत्रमा इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकको तर्फबाट सहप्राध्यापक नारायणप्रसाद गौतम र हवाई इन्धन डिपो सिनामंगलको तर्फबाट प्रदीप यादवले हस्ताक्षर गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले एपीआईको मान्यताअनुसारको सुरक्षित नभएको, इन्धन भण्डार क्षमता कम र हवाई सुरक्षा मापदण्डभित्र रहेकाले डिपो सार्न लागिएको बताए।
उनले पछिल्लो समय हवाई इन्धनको माग उच्च भएको बताए । उनले अन्य समयमा ४ लाख लिटर मात्रै हुने गरेको इन्धन यो वर्षको दशैँमा ९ लाख लिटर हवाई इन्धन खपत भएको जानकारी दिए ।
हवाई डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित नरहेकाले सार्न लागेको बताए ।
इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकका सहप्राध्यापक नारायणप्रसाद गौतमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानन्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरीय डिपीआर बनाउने प्रतिवद्धता जनाए ।
उनले नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुनेगरी डिजाइन बनाउने सोच रहेको र त्यहीअनुसार सम्झौता गरिएको बताए ।
उनले इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गौरवका आयोजनाहरूको पनि डिजाइन गरिसकेको बताउँदै गुणस्तरीय डीपीआर बनाउने दावी गरे ।
सिनामंगलको घना बस्तीबीच अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपो सारिने भएको छ । ५० वर्षअघि निर्माण भएको यो डिपो जोखिमका दृष्टिकोणले अनुपयुक्तका साथै विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ को निर्माणसमेत हुन लागेकाले सार्न लागिएको निगमले जनाएको छ ।
तत्कालीन समयमा निर्माण भएको यो डिपोले अहिलेको विश्वस्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन न सकेकाले अहिलेको मापदण्ड अनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको हो ।
डीपीआर गर्नको लागि ६ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डीपीआर गर्न र डीपीआर गर्न लाग्ने खर्च १ करोड ९८ लाख रुपैयाँ विनियोजनसहित निर्णय गरेपछि डिपो सार्ने विषयअघि बढेको हो । डीपीआर तयार भएपछि निगमले उक्त प्रतिवेदन स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.