२०८१ मंसिर ६ गते १४:४१ नरेन्द्र विष्ट
काठमाडौं । रिङरोडको व्यस्त सडक । सयौं सवारी साधनमा हजारौं मानिसहरूको आवातजावत । तिनै हजारौं मानिसको एक नजर परिहाल्छ ‘ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर’ मा । अधिकांशको मनमा जिज्ञासा पलाउँछ होला, ‘यो फ्लाई ओभरमा फिलिली… गाडी चलाउन कहिले पाइन्छ होला ?
नेपालमा नयाँ र पहिलो फ्लाई ओभर भएकोले पनि ती यात्रुहरूको मनमा त्यो जिज्ञासा, प्रश्न र कौतुहलता उब्जिनु पनि स्वाभाविक हो । तिनै हजारौं मानिसहरूको त्यो कौतुहलताको जवाफ खोज्न हामी बुधबार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर स्थलमा पुग्यौं ।
सवारीसाधनको व्यस्त आवागमनको बीचमा काम गर्न व्यस्त थिए पाँच दर्जन मानिसहरूको संख्या । दैनिक २२ घण्टाभन्दा बढी समय काम भइरहेको सो स्थलमा १ डोजर, २ स्काईभेटर, ३ ट्रिपर, ९ रोलर र ३ वटा क्रेन निर्माणस्थलमा परिचालन गरिएको थियो । ६५ जना काममा व्यस्त थिए ।
हामीले निर्माण स्थलमा खटिएका सव–इञ्जिनियर कृष्णगोपाल श्रेष्ठलाई प्रश्न गरौं, ‘फ्लाई ओभरको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ?
उनले जवाफमा भने, ‘हालसम्म ‘फ्लाई ओभर’ को ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब केही दिनमै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’
अहिले ‘फ्लाई ओभर’ को कोटेश्वरतर्फ माटो भर्ने काम भइरहेको छ । दुई वर्षदेखि निर्माणाधीन ‘फ्लाई ओभर’को काम २०८१ भित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को ‘फ्लाई ओभर’ २०८१ सम्म सम्पन्न गर्ने समयसीमाका साथ अगाडि बढिरहेको छ ।
२०७८ साल फागुन महिनाको १२ गतेबाट सुरु भएको ग्वार्को ‘फ्लाई ओभर’ को काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर, तोकिएको समयमा काम सम्पन्न हुन सकेन । सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्र, चाकुपाट, ललितपुरले हालसम्म ‘फ्लाई ओभर’ को ९८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दियो ।
प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर प्रभातकुमार झाका अनुसार दसैं-तिहार र बेमौसमी वर्षाका कारण काम केही ढिलाजस्तो भए पनि अहिले कामलाई तीव्र रूपमा अगाडि बढाइएको छ ।
निर्माण कम्पनी आशीष-समानान्तर-रेलिगेर जेभी काठमाडौंले २०७८ फागुन १२ गते ‘फ्लाई ओभर’ निर्माणको ठेक्का पाएको थियो । सम्झौतामा काम सम्पन्न गर्न सक्ने अवधि दुई वर्षको थियो । जसमा काम पुरा हुन नसकेपछि म्याद थप गरेको थियो । सम्झौता अनुसार पुस ११ गते सम्ममा सम्पन्न गर्नुपर्ने भए पनि समयावधिभित्रै सम्पन्न हुन कठिन नै देखिन्छ ।
चक्रपथ सडकखण्डमा ट्राफिक जाम नियन्त्रण र व्यवस्थापन सहज बनाउन सरकारले ग्वार्कोमा ‘फ्लाई ओभर’ को उद्देश्यसहित चक्रपथको ग्वार्को, एकान्तकुना र सातदोबाटो चोकमा ‘फ्लाई ओभर’ बनाउने योजना अघि बढाइएको थियो । त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्को चोकको ‘फ्लाई ओभर’ निर्माण सुरु गरिएको थियो । नेपालको सडक सञ्जालअन्तर्गत बन्न लागेको यो पहिलो ‘फ्लाई ओभर’ पुल हो । जहाँ सरकारको ठूलो लगानीसमेत छ ।
कुल १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा ठेक्का लागेको ग्वार्को ‘फ्लाई ओभर’ को अहिलेसम्म वित्तीय प्रगति ४५.५४ प्रतिशत पुगेको छ । भौतिक प्रगति चार साता मात्रै बाँकी रहँदा हालसम्म ८० प्रतिशत प्रगति भएको देखिएको छ ।
जसमा पुल निर्माणको काम सम्पन्न भए पनि पुलको रेलिङ, पेभमेन्ट, रंगरोगलगायतको काम बाँकी छ । त्यसैगरी एप्रोज रोडलगायतको काम पनि बाँकी छ ।
समानान्तर जेभीले भने निर्माण कार्य केही दिनभित्रै सकिने जानकारी दिएको छ । ‘अब कोटेश्वरतिरको सकिने प्रक्रियामा छ,’ आशीष–समानन्तर-रेलिगेर जेभीका सव इन्जिनिर कृष्णगोपाल श्रेष्ठले भने, ‘काम छिट्टै सकिने प्रक्रियामा छ ।’
कस्तो बन्दैछ ‘फ्लाई ओभर’ ?
‘फ्लाई ओभर’ को कुल लम्बाइ ४ सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारीतर्फबाट २८० मिटर लामो र्याम र सातोदोबाटो तर्फबाट १७५ मिटर लम्बाइको र्याम बनाइने छ ।
बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । ‘फ्लाई ओभर’ को उचाइ ६ मिटरको हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाई ओभर’ को उचाइ ६ मिटर राखिएको हो । ‘फ्लाई ओभर’ ३० मिटर स्पानको चार लेनको पुलसहितको हुनेछ ।
कहिले गुड्छन् त गाडी ?
निर्माणाधीन यो ‘फ्लाई ओभर’ हालसम्म कोटेश्वरतर्फ ३२० मिटरमध्ये २५६ मिटर जडान सम्पन्न भएको छ भने सातादोबाटोतर्फ १८० मिटर मध्ये १२० मिटर जडान सम्पन्न भएको छ । एप्रोच सडकको ५ सय मिटर काम अझै बाँकी छ भने यसबाहेक कालोपत्र हुन बाँकी छ ।
ग्वार्को फ्लाई ओभरअन्तर्गत ३० मिटर स्पानसहित ४ लेनको पुल निर्माण हुँदैछ भने यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बन्ने छ । यसमा बालकुमारी र सातदोबाटोबाट र्याम बनाइएको छ। जसअन्तर्गत पुल निर्माणको कार्य ९८ प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, पहुँच सडकलगायत अन्य निर्माण कार्यसमेत अन्तिम चरणमा रहेको बताइएको छ । यो प्रोजेक्ट सम्पन्न भएपछि ७० प्रतिशत भन्दामाथि ट्राफिक नियन्त्रणमा टेवा पुग्ने दाबी गरिएको छ ।
नेपालमा नयाँ प्रयोग भएको भन्दै यस्ता पूर्वाधार निर्माणले आगामी दिनमा थप कामका लागि सहयोग पुग्ने झाले जानकारी दिए ।
यो ‘फ्लाई ओभर’ सम्पन्न भएपछि मंगलबजारबाट ग्वार्को, लुभु–लामाटार इमाडोल जाने र ग्वार्को इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी पुलमुनिबाट चल्नेछन् । ‘फ्लाई ओभर’ बाट चक्रपथतर्फ जाने सवारीसाधन चल्नेछन् । जसका कारण धेरै हदसम्म जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
यस्तै, केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘फ्लाई ओभर’ को स्थलगत निरीक्षण गर्दै समयमा काम सक्न निर्देशन दिएका थिए । म्याद सकिनै लागे पनि निर्माणको काम भने अझै सुस्त देखिएको छ ।
ट्राफिक व्यवस्थापन
‘फ्लाई ओभर’ निर्माण अवधिभर उक्त चोकमा ट्राफिक व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक डाइभर्सनको व्यवस्था गरेको छ ।
निर्माण अवधिभर कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, माहलवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाँग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट चलाउने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई भने ग्वार्को चोकभन्दा ६ सय मिटरअगाडि र पछाडि सर्भिस लेनबाट सञ्चालन भइरहेको छ ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने सवारीसाधनलाई सर्भिस लेनमा र साना चारपाँग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.