२०८१ मंसिर ७ गते १२:२२ विकासन्युज
काठमाडौं । ठगी र घुसखोरीको आरोप लागेसँगै अडानी समूहका अध्यक्ष गौतम अडानी धनीको सूचीबाट तल झरेका छन् ।
बिहीबार अमेरिकी अदालतले भारतको दोस्रो धनी व्यापारीसमेत रहेका अडानीविरुद्ध ठगी र घुसखोरीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनको सेयरमा भारी गिरावट आएको थियो । उक्त गिरावटसँगै उनी फोर्ब्सको रियल टाइम नेटवर्थ लिस्टमा तल आएका हुन्।
अमेरिकी अदालतको आदेशपछि अडानीकाे कम्पनीको मार्केट क्याप ३.२ लाख करोड रुपैयाँभन्दा बढीले घटेको थियो । जसका कारण अडानीको नेटवर्थ पनि घटेको हो ।
कति घट्यो सम्पत्ति ?
फोर्ब्सका अनुसार अदानीको सम्पत्ति एक दिनमा १७.३४ प्रतिशतले घटेको छ । अर्थात् अडानीको सम्पत्ति एक दिनमा १२.१ बिलियन डलरले घटेर ५७.७ बिलियन डलरमा पुगेको छ ।
सम्पत्तिमा आएको गिरावटका कारण अडानी फोर्ब्सको अर्बपतिको सूचीमा धेरै स्थान तल झरे । फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूचीमा अडानी २२ औं स्थानबाट २५ औं स्थानमा झरेका छन् ।
ब्लुमबर्ग बिलियनेयर इन्डेक्समा अडानी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा १८ औं स्थानमा छन् । यस सूचीअनुसार अडानीको सम्पत्ति ८५.५ बिलियन डलर छ ।
अडानी समूहको स्पष्टीकरण
यो कुरा बाहिर आएपछि अडानी समूहले बिहीबार नै स्पष्टीकरण दिएको छ । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ ।
विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ ।
के हो विषय ?
अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । यस मामिलामा अदालतले अडानी र उनका भतिजा विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
२०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । आजको गिरावट त्यसपछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा)
यो पनि पढ्नूहोस् : अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप
Copyright © 2024 Bikash Media Pvt. Ltd.