२०८१ मंसिर ७ गते ११:५४ विकासन्युज
काठमाडौं । सत्तारूढ नेकपा एमालेको कारण शुक्रबार उपत्यकाको सवारीसाधन आवागमन ठप्प भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीकै कारण आज काठमाडौं उपत्यकाका सडक अस्तव्यस्त बनेका हुन् ।
शुक्रबार काठमाडौंका अधिकांश सडकहरू ट्राफिक जाममा छन् । सवारीसाधनको आवतजावत ठप्प हुँदा कामका लागि घरबाहिर निस्केका सर्वसाधारणले दुःख पाएका छन् ।
एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा सभा गर्दै छ । जनसभालाई आज दिउँसो साढे एक बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने तयारी गरिरहेको छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने जानकारी छ ।
एमालेले यसलाई जागरणसभाको उपमा दिएको छ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमाले पार्टीको अनुशासन आयोगका संयोजक केशब बडालले बताए । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रूपमा पनि हेरिएको छ ।
सरकारको नेतृत्व गरिरहेको पार्टी सत्तामा रहेर नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने भूमिका निर्वाह गर्नु पर्नेमा सडकमा शक्ति प्रदर्शन गरेर अराजकता सुरु गरेको भनेर आलोचना पनि भइरहेको छ ।
सरकारको नेतृत्व गरिरहेकै पार्टीले सडकमा आन्दोलन गर्नुलाई लोकतान्त्रिक मूल्य मान्यताहरूमाथि पनि गम्भीर प्रश्न उठ्ने जानकारहरू बताउँछन् ।
सरकारको नेतृत्व गरिरहेकै पार्टीले सडकमा शक्ति प्रदर्शनको विकल्प खोज्नुलाई धेरै संशयमात्र मानेका छैनन्, ओली नेतृत्वको सरकार आफ्नै संयन्त्रप्रति असन्तुष्ट रहेको संकेत पनि दिन्छ ।
एमालेका कारण उपत्यका ट्राफिक अस्तव्यस्त भएको हुनाले ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.