२०८१ मंसिर ७ गते १३:५१ विकासन्युज
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराई ।
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च १० प्रतिशत पुगेको छ।
बिहीबार अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा चालु आवको पहिलो चार महिनाको समीक्षामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिव १७ प्रतिशतले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशतमा सीमित भएको देखिएको छ ।
गत आवको पहिलो चार महिनामा पुँजीगत करिव १० प्रतिशत भएको थियो । चालु आवमा पनि पुँजीगत खर्च बढ्न सकेको देखिएन ।
त्यस्तै, चालु आवको चार महिनामा सार्वजनिक खर्चतर्फ पनि चालु खर्च २६ प्रतिशत, पुँजीगत खर्च १० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २४ प्रतिशत गरी समग्र खर्च हेर्दा २२ प्रतिशत पुगेको अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।
उनले गत वर्ष सोही अवधिमा समग्र खर्च २० प्रतिशत खर्चमात्रै रहेकोमा यस वर्ष थोरै भएपनि वृद्धि भएकाले यसलाई सरकारले मार्जिनल रिफर्मको रूपमा लिएको उल्लेख गरे । उनले सरकारको चालु आवको पहिलो चार महिनामा १७ प्रतिशतले राजश्व संकलनमा वृद्धि गरेको बताए ।
प्रवक्ता भट्टराईले गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजश्व सङ्कलन भएकोमा चालु आवको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको बताए ।
उनले चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको भन्दै अहिलेकै अनुपातमा राजश्व संकलन हुँदा १४ खर्ब १९ अर्बको राजश्व संकलनको लक्ष्य पूरा गर्न चुनौति रहेको बताए ।
उनले मुलुकको अर्थतन्त्र लयमा नै रहेको भएपनि गति भने सुस्त रहेको उल्लेख गरे । उनले विगतको तुलनामा राजश्व सङ्कलन वृद्धि भएपनि चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको पनि बताए ।
उनले राजश्व सङ्कलनका क्षेत्रमा देखापरेका अवसर र कमजोरीहरूलाई ख्याल गर्दै राजश्व सङ्कलनको लक्ष्य पूरा गर्न सरकार लाग्ने दावी पनि गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.