२०८१ मंसिर ९ गते ८:५९ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरु भएको छ । आज बिहान ८ बजेदेखि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिन सुरु गरिएको हो ।
बोर्ड अध्यक्ष सिफारिस समितिले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये अहिलेसम्म कृष्णबहादुर कार्की र डा. नवराज अधिकारी मात्रै अन्तर्वार्ताका लागि मन्त्रलायमा पुगिसकेको स्रोतले जनाएको छ ।
बोर्ड अध्यक्षका अर्का उम्मेदवार चिरञ्जीवी चापागाईंको भने अन्तर्वार्ताका लागि आउने नआउने केही टुंगालो नलागेको स्रोतको भनाइ छ ।
सिफारिस समितिले गत कात्तिक २९ गते एक सूचना जारी गर्दै तीनै जनालाई आज बोलाएको थियो । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो ।
अध्यक्ष नियुक्तिका लागि समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए ।
यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिइसकेका छन् । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.