२०८१ मंसिर ९ गते १८:०७ विकासन्युज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति १ सय खर्ब नाघेको छ । २०८१ असारसम्म बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरबैंकिङ संस्थाको कुल सम्पत्ति तथा दायित्व १०६ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । जबकि अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरबैंकिङ संस्थाको कुल सम्पत्ति तथा दायित्व ९२ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यी संस्थाहरूको १४.१९ प्रतिशत अर्थात् १३ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशत अर्थात् ८ खर्ब २४ अर्ब २९ करोड रुपैयाँ बढेर ७२ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको सम्पत्ति तथा दायित्व ६४ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँमात्रै थियो ।
यस्तै, विकास बैंकहरूको कुल सम्पत्ति तथा दायित्व ७.९ प्रतिशत अर्थात् ५२ अर्ब २९ करोड रुपैयाँ बढेर गत असारसम्म ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ खर्ब ६५ अर्ब रुपैयाँ सम्पत्ति थियो ।
यस्तै, फाइनान्स (वित्त) कम्पनीहरूको कुल सम्पत्ति तथा दायित्व ११.२ प्रतिशत अर्थात् १७ अर्ब १२ करोड रुपैयाँ बढेर १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असारमा फाइनान्स कम्पनीको कुल सम्पत्ति १ खर्ब ५२ अर्ब ६० रुपैयाँ थियो । साथै, लघुवित्त वित्तीय संस्थाहरूको गत वर्ष कुल सम्पत्ति ९.०४ प्रतिशत बढेर ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष लघुवित्त संस्थाहरूको कुल सम्पत्ति ५ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ थियो ।
नेपाल पूर्वाधार बैंक (निफ्रा) को सम्पत्ति १.२ प्रतिशत बढेर २९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । २०८० असारसम्म बैंकको २९ अर्ब १५ करोड रुपैयाँ कुल सम्पत्ति थियो । हाल १४ जीवन, १४ निर्जीवन, २ पुनरबीमा र ७ लघुबीमा कम्पनी गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्कअनुसार गत वर्ष बीमा कम्पनीहरूको कुल सम्पत्ति ३८ प्रतिशत बढेर ९ खर्ब ३९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बीमा कम्पनीहरूको सम्पत्ति ६ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ थियो ।
यस अवधिमा कर्मचारी सञ्चय कोषको सम्पत्ति ११.६ प्रतिशत बढेर ५ खर्ब ७१ अर्ब ३२ करोड रुपैयाँ, नागरिक लगानी कोषको १४.३ प्रतिशत बढेर ३ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ र सामाजिक सुरक्षा कोषको ३१ प्रतिशत बढेर ९८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्मचारी सञ्चयको ५ खर्ब १२ अर्ब ४ करोड रुपैयाँ, नागरिक लगानीको २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ र सामाजिक सुरक्षा कोषको ७४ अर्ब ९७ करोड रुपैयाँ कुल सम्पत्ति तथा दायित्व रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.