अमेरिकी प्रतिबन्धसँग निडर हुवावे : एक वर्षभित्र हार्मोनी ओएसमा १ लाख एप्स पुर्‍याउने

  २०८१ मंसिर ९ गते १८:०६     विकासन्युज

काठमाडौं । अमेरिकाले कालोसूचीमा राखेको चिनियाँ प्रविधि कम्पनी हुवावेले आगामी महिनामा आफ्नो हार्मोनी अपरेटिङ सिस्टमका लागि १ लाख एप्लिकेसनहरू लक्षित गरिरहेको बताएको छ ।

हुवावेका अध्यक्ष स्यु झिजुनले शनिबार एक सम्मेलनमा बताएअनुसार हार्मोनीमा आधारित १५ हजारभन्दा बढी एपहरू कम्पनीसँग उपलब्ध छन्, जसले उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्न सक्छन् । तर, थप व्यक्तिगत र विशेष प्रकारका एपहरूको आवश्यकता रहेको छ ।

‘हाम्रो विश्लेषणअनुसार उपभोक्ताको आवश्यकता पूरा गर्न हार्मोनी इकोसिस्टमलाई परिपक्व बनाउन १ लाख एप्स मुख्य लक्ष्य हो र यो आगामी ६ देखि १२ महिनाभित्रको प्राथमिक उद्देश्य हो,’ स्युले भने ।

यो महत्त्वाकांक्षी एप लक्ष्यले स्वदेशी प्रविधिको विकासको अत्यावश्यकतालाई उजागर गरेकाे छ । चीनले व्यापारदेखि प्रविधिसम्मका क्षेत्रमा अमेरिकासँगको तनावको सामना गरिरहेको छ । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप कठोर हुने धम्की दिइसकेका छन् ।

अमेरिकी प्रतिबन्धहरूले गुगलको एन्ड्रोइडको समर्थन बन्द गरिदिएसँगै हुवावेले पाँच वर्षअघि आफ्नो अपरेटिङ सिस्टम सुरु गरेको थियो । स्मार्टफोनदेखि ल्यापटपसम्मका उत्पादनहरू बेच्ने शेन्जेनस्थित कम्पनीले पछि हार्मोनीको एक ओपन-सोर्स संस्करण पनि विकास गर्‍यो ।

अमेरिकी प्रतिबन्धका कारण हुवावेले आफ्नै अपरेटिङ सिस्टम विकास गर्न गतिलाई तीव्र बनाउन बाध्य भएको छ,’ स्युले भने । उनका अनुसार धेरै प्रगति भए तापनि कुनै पनि अपरेटिङ सिस्टम, चाहे जति नै उन्नत किन नहोस्, यदि कसैले प्रयोग नगरेमा त्यसको कुनै मूल्य हुँदैन ।

स्युले विकासकर्ताहरूलाई एप्सको विविधता बढाउन कडा मेहनत गर्न आग्रह गर्दै सरकारी निकायहरू, सरकारी कम्पनीहरू र सामाजिक संस्थाहरूलाई कार्यस्थलमा हार्मोनीलाई अपरेटिङ सिस्टमको रूपमा प्रयोग गर्न आह्वान गरे ।

हुवावेले हार्मोनीलाई अगस्ट २०१९ मा अनावरण गरेको थियो, जब वासिङ्टनले सुरक्षा चिन्ताका कारण कम्पनीलाई व्यापार प्रतिबन्धमा राखेको थियो । हुवावेले भने आफ्नो उपकरणले कुनै जोखिम पैदा नगर्ने दाबी गरेको छ ।

‘फर्कने बाटो छैन, यही विजयको बाटो हो,’ स्युले भने, ‘हुवावेले हार्मोनी इकोसिस्टमको विकासमा अडिग रूपमा लगानी गर्नेछ र असम्भवलाई सम्भव बनाउन प्रयास गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.