४० लघुवित्तमा राष्ट्र बैंकको निरीक्षण, ३ लघुवित्तमा विशेष, २ लाई हर्जाना

  २०८१ मंसिर १० गते ८:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूपमा जरिवाना तिराएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । तर, कुन संस्था हुन भनेर नाम भने खुलाइएको छैन ।

गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो भने ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो ।

यस्तै, राष्ट्र बैंकबाट पुनरकर्जा, व्यवसायिक कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता अध्ययन गर्न नियुक्त भएको परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा २ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिइएको छ । यस्तै, निर्देशन विपरित कार्य गरेबापत ७ वटा लघुवित्तलाई कारवाही तथा निर्देशन दिइएको छ । साथै, २७ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ ।

गत असारसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति÷दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, यी संस्थाहरूको कुल निक्षेप र सापटी क्रमशः १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा र लगानी क्रमशः ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ र १० अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.