चीनसँग लोन लिनै हुँदैन भन्ने विषय असाध्यै आपत्तिजनक हो : झलनाथ खनाल

  २०८१ मंसिर १० गते १४:४६     विकासन्युज

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजनाअन्तर्गत लोन लिनै नहुने सत्तारूढ कांग्रेसको अडानप्रति आपत्ति जनाएका छन् ।

सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजनाअन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए ।

उनले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे ।

नेता खनालले भने, ‘बीआरआई ग्लोवल प्रोजेक्टजस्तो बनिसक्यो । अहिले विश्वका १५३ मुलुकहरूसँग सहमति भइसकेकाे छ । भूराजनीतिक जटिलता अहिले मात्रै होइन, धेरै पहिलेदेखि भएको छ । र यो जारी रहन्छ । त्यसकारण भूराजनीतिक जटिलता भित्र सत्तारुढ दलहरू पर्नुपर्ने आवश्यकता छैन । चीनसँग लोन लिनै हुँदैन, बीआरआईसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो चाहिं असाध्यै आपत्तिजनक कुरा हो भन्ने कुरा हामीले राखेका छौं ।’

बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले फैसला गर्ने भएकाले त्यसमा अरू देशको दवावको कुनै अर्थ नहुने पनि नेता खनालले दोहोर्‍याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.