नेपाल धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोष नारायण श्रेष्ठ, को हुन् उनी ?

  २०८१ मंसिर १० गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । अन्ततः सन्तोषनारायण श्रेष्ठले बाजी मारे ।

जन्मथलो स्याङ्गजाको भिरकोट नगरपालिका रहेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंमा समेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् ।

साथै, तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा सञ्चालक समितिको अध्यक्ष समेत बनेका श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा ३ वर्ष सञ्चालक समिति सदस्य भएर काम गरेको अनुभव छ । उनी वित्तीय क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्राधिकरणमा सञ्चालक बनेका थिए ।

सोप एण्ड केमिकल, जलविद्युत् तथा कलेजहरूमा समेत संलग्न रहेका उनको विभिन्न जलविद्युत कम्पनीमा लगानी समेत रहेको छ । म्यानेजमेन्ट एसोसियसन नेपाल (म्यान)को आजीवन सदस्य श्रेष्ठ रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य समेत बने ।

२०८० पुस २० गतेदेखि बोर्ड अध्यक्षविहीन भएपछि माघ पहिलो साता राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनोट समिति गठन भयो । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री डा. प्रकाश शरण महत ।

फागुन १६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दा १९ जनाले आवेदन दिएका थिए । छनोट समितिले १९ जनामध्येबाट सन्तोषनारायणसहित बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं पाँच जनामा सर्टलिष्ट गरेको थियो ।

तर, सर्टलिस्टमा परेका ५ जनामध्ये पहिलो चरणमा सन्तोष नारायण र मुक्ति श्रेष्ठले मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ता दिए । अधिकारी, कार्की र चिरञ्जिवी चापागाईंले बहिस्कार गरे । सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्याे ।

तर, सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायणले अदालत पुगेका थिए । र, अदालतले पनि उनको पक्षमा आदेश दिएपछि नियुक्ति प्रक्रिया पुनः अघि बढेको थियो । यहीबीचमा प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली प्रधानमन्त्री बने भने विष्णु पौडेल अर्थमन्त्री बने । र, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएपछि उनी छनोट समितिको समेत संयोजक बने ।

लामो स्थगित रहेपछि गत मंसिर ९ गते सर्टलिष्टमा परेका पाँच जना कार्की, चापागाईं र अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये कार्की र अधिकारीले मात्रै अन्तर्वार्ता दिएका थिए भने चापागाईं अनुपस्थित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.