२०८१ मंसिर ११ गते ९:५६ विकासन्युज
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि बाली आयात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार चार अर्ब ४८ लाखको चिया रुपैयाँ, एक अर्ब ५५ करोड रुपैयाँको अलैँची, एक अर्ब पाँच करोड रुपैयाँको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाख रुपैयाँको अम्लिसो २० करोड ५५ लाख रुपैयाँको अदुवा, छ करोड ४८ लाख रुपैयाँको बन्दाकोभी, एक करोड ५५ लाख रुपैयाँको मसुरो दाल, ५१ लाख १९ हजार रुपैयाँको जडीबुटी र ११ करोड ५३ लाख रुपैयाँको अन्य कृषि बाली भारत निर्यात भएको छ ।
सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् । चार महिनामा २२ करोड ३१ लाख रुपैयाँको गेडागुडी, १५ करोड ३० लाख रुपैयाँको आलु, १४ करोड १३ लाख रुपैयाँको ताजा फलफूल, ११ करोड सात लाख रुपैयाँको लसुन, छ करोड ४४ लाख रुपैयाँको कोदो, पाँच करोड ३४ लाख रुपैयाँको सागसाब्जी र पाँच करोड दुई लाख रुपैयाँको अन्य कृषि बाली आयात भएको छ ।
कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने उनी बताउँछन् । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ ।
पहाडी जिल्लाबाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन् । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.