२०८१ मंसिर ११ गते १४:५० विकासन्युज
काठमाडौं । अमेरिकाका लगानीकर्ता वारेन बफेटले परिवारिक सम्पत्तिको वंश परम्पराविरुद्ध गई तीन स्वतन्त्र ट्रस्टी नियुक्त गरेका छन् । साथै १५० बिलियन डलर व्यक्तिगत सम्पत्ति भएका बफेटले आफ्नो परिवारको चार फाउण्डेशनलाई बर्कशायर हाथवे स्टकको १.१ अर्ब दान गरे ।
९४ वर्षीय बफेटले आफ्नो तीन सन्तानलाई ठूलो सम्पत्ति छोड्नुको सट्टा बर्कशायरमा बनाएको आफ्नो सम्पत्तिको ९९ प्रतिशत दान दिने प्रतिबद्धता लामो समयदेखि गर्दै आएका थिए ।
उनले बर्कशायर हाथवेलाई सन् १९६५ देखि नेब्रास्का राज्यको ओमाहामा आधारित एक विशाल समूहका रूपमा सञ्चालन गर्दै आएका छन् ।
बफेटका अनुसार परिवारिक सम्पत्तिको वंश परम्पराले व्यक्तिगत विकासमा बाधा पुर्याउन सक्ने र पछि सम्बन्धहरूमा जटिलता थप्न सक्ने सम्भावना छ । साथै, यस्तो सम्पत्तिले भविष्यका पुस्ताहरूले त्यसलाई कसरी बाँडफाँड गर्ने भन्ने अन्योल पनि सिर्जना गर्न सक्छ ।
‘मैले कहिल्यै वंश परम्परा सिर्जना गर्ने चाहना राखिनँ वा बच्चाहरूभन्दा पर जान सक्ने कुनै योजना बनाइनँ,’ बफेटले सोमबार लामो पत्रमा लेखेका छन्, ‘म आफ्ना तीन सन्तानलाई राम्ररी चिन्छु र उनीहरूमा पूर्ण विश्वास गर्छु । तर भविष्यका पुस्ताहरू अर्कै कुरा हुन् । असाधारण सम्पत्तिको वितरणलाई सम्हाल्न उनीहरूको प्राथमिकता, बुद्धिमत्ता र निष्ठा कस्तो हुनेछ भन्ने कुरा अनुमान गर्न सकिँदैन ।’
तीन ट्रस्टी नियुक्त
‘ओराकल अफ ओमाहा’ भनेर चिनिने बफेट जसले बर्कशायरका क्लास ए सेयरहरूको करिब ३७.६ प्रतिशत स्वामित्वमा राखेका छन् । उनका अनुसार आफूले जोडेको सम्पत्ति सन्तानहरूको जीवनभन्दा लामो समय बाँडफाँडमा जानसक्छ । त्यसैले उनले सम्पत्ति बाँडफाँड गर्न तीन ट्रस्टी नियुक्त गरेका छन् । बफेटका सन्तान ७१, ६९ र ६६ वर्षका छन् ।
‘तीन सम्भावित उत्तराधिकारी ट्रस्टीहरू छनोट गरिएका छन् । मेरा सन्तानले उनीहरूलाई राम्ररी चिन्छन् र यो सबैलाई उपयुक्त देखिन्छ । उनीहरू मेरा सन्तानभन्दा केही कान्छा पनि छन्,’ बफेटले लेखेका छन्, ‘तर यी उत्तराधिकारीहरू प्रतीक्षाको सूचीमा छन् । म आशा गर्दछु कि सुसी, होवी र पिटरले नै मेरो सबै सम्पत्ति बाँडफाँड गर्नेछन् ।’
ट्रस्टीहरूको पहिचान भने खुलाइएको छैन ।
बफेटले २००६ देखि परिवारका चार फाउण्डेशनलाई वार्षिक रूपमा दान गर्दै आएका छन् । उनले आफ्ना सन्तानको व्यवस्थापकीय क्षमता र परोपकारी आकांक्षामा विश्वास रहेको बताए ।
‘२००६-२०२४ को अवधिले मलाई मेरा प्रत्येक बच्चाहरूको काम अवलोकन गर्ने मौका दियो । उनीहरूले ठूलाठूला परोपकार र मानवीय व्यवहारका बारे धेरै सिकेका छन्,’ उनले भने, ‘उनीहरूलाई आर्थिक रूपमा सहज रहन मन पर्छ, तर सम्पत्तिमा उनीहरूको ध्यान केन्द्रित छैन । उनीहरूको आमा, जसबाट उनीहरूले यी मूल्य र मान्यताहरू सिकेका थिए, उनीहरूप्रति गर्व गर्ने थिइन् । जसरी म पनि गर्व गर्छु ।’
सोमबार बफेटले १ हजार ६०० ए सेयरलाई २४ लाख बी सेयरमा रूपान्तरण गरेर परिवारका चार फाउण्डेशनलाई दान गरे । तीमध्ये १५ लाख सेयर ‘द सुसन थोम्पसन बफेट फाउण्डेशन’ र प्रत्येक ३-३ लाख सेयर ‘द शेरवुड फाउण्डेशन’, ‘द होवार्ड जी. बफेट फाउण्डेशन’ र ‘नोभो फाउण्डेशन’ लाई प्रदान गरियो ।
बफेटको बर्कशायर, जसले यस वर्ष १ ट्रिलियन अमरेकी डलरको बजार मूल्य पार गरेको छ । (एजेन्सीहरूको सहयोगमा)
Copyright © 2024 Bikash Media Pvt. Ltd.