महिलामा विकराल बन्दै अनियमित महिनावारी, वेवास्ता गरे क्यान्सरदेखि मुटु रोगसम्म लाग्ने जोखिम 

  २०८१ मंसिर ११ गते १६:४८     इन्द्रसरा खड्का

काठमाडौं । ओखलढुङ्गाकी रमिला थापा १९ वर्षकी हुँदा महिनावारी सुरु भयो । त्यसपछि उनको महिनावारी  तीन महिना जति रोकियो । केही समयपछि फेरि नियमित हुन थाल्यो । यो क्रम एक वर्षसम्म चल्यो । त्यसपछिका दिनमा फेरि गडबडी सुरु हुन थाल्यो । कहिले २-३ महिनामा त कहिले ४-५ महिनाको एक पटक महिनावारी हुन थाल्यो । सुरुमा उनलाई यो क्रम सामान्य नै लाग्यो । लामो समयसम्म महिनावारीको चक्र यस्तै गरी चल्दै गयो ।

 तर केही महिनायता रमिलामा ठ्याक्कै उल्टो हुन थाल्यो, महिनामै दुई तीन पटक महिनावारी भयो । त्यसपछि भने बल्ल डर लाग्न थाल्यो । यो समस्या उनले आमालाई सुनाइन् । आमालाई लिएर गाउँकै स्वास्थ्यसंस्थामा गइन् । सामान्य रुघाखोकी जाँच हुने अस्पतालमा यसको उपचार सम्भव थिएन । फेरि उनी आमासँगै जिल्लामै रहेको क्लिनिकमा पुगिन् । 

अस्पतालले यो पाठेघरसम्बन्धी समस्या हुन सक्ने भन्दै स्त्रीरोग विशेषज्ञसँग सल्लाह लिन सुझाव दियो । त्यसपछि थापा उपचारका लागि काठमाडौं आइन् । आइतबार पाटन अस्पतालमा भेटिएकी रमिलाले भनिन्, ‘पहिले समयमा नहुने, ढिला हुने हुन्थ्यो । सामान्य नै होला भन्ने लाग्यो, अहिले त महिनामा दुईतीन पटक नै महिनावारी हुन्छ, किन यस्तो समस्या भयो भनेर जाँच गर्न आएँ ।’

पहिलो पटक ठूलो अस्पतालमा आएकी रमिलालाई डर लागिरहेको थियो । ‘डाक्टरले के सोध्छन्, के-के जाँच गर्नुपर्छ?,’ उनी भन्छिन्, ‘न केही दुखाइ छ,  नदुखुञ्जेल अस्पताल जाने बानी छैन, यस्तो समस्या देखेपछि जाँच गर्नुपर्छ भने सबैजनाले अनि चेक गर्न आएकी हुँ ।’

ग्वार्कोकी उषा राजवंशीको पनि समस्या यस्तै छ । बिहे नगरुञ्जेल यो समस्यालाई वेवास्ता गर्दै आएकी उनी बिहेपछि पनि यस्तै समस्या हुन थालेपछि जाँच गर्न अस्पताल पुगिन् । महिनावारी अनियमित हुँदा उनको गर्भसमेत बस्न सकेको छैन । उनलाई पनि अनियमित महिनावारी सामान्यजस्तो लाग्थ्यो । जब बच्चा जन्माउने योजनामा उनी पुगिन् तब बच्चा नबस्ने समस्या देखियो ।

 ‘बिहे गरेको धेरै वर्ष भइसक्यो अहिलेसम्म गर्भ रहन सकेको छैन,’ उषा भन्छिन्, ‘पहिले वास्तै गरिएन, समयमै सचेत नहुँदा समस्या पो हुँदो रहेछ, अहिले उपचार गरिरहेकी छु, डाक्टरले निको हुन्छ भन्नुभएको छ । हेरौं अब के कसो हुन्छ ।’ उनी अस्पताल जाँच गर्न जाँदा अनियमित महिनावारीले गर्दा यो सबै समस्या भएको बताउँछिन् । अहिले उनी यो समस्याको उपचारका लागि पाटन अस्पताल धाइरहेकी छन् । 

यस्ता समस्या लिएर अस्पताल पुग्ने महिलाको सङ्ख्या आजभोलि निकै बढी छ । कतिपय किशोरी अभिभावकसँगै अस्पताल पुग्ने गर्छन् भने कोही एक्लै उपचारका लागि पुग्ने गर्छन्   थापाथली अस्पतालदेखि पाटन लगायतका अन्य अस्पतालमा महिनावारी अनियमित भएको समस्या लिएर अस्पताल पुग्ने महिलाको सङ्ख्या बढ्दै गएको अस्पतालले बताएका छन् । 

सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि यस्ता समस्या लिएर पुग्ने महिलाको सङ्ख्या अहिले निकै बढेको छ ।  पाटन अस्पतालमा महिनावारी गडबड भएको समस्या लिएर दैनिक १०-१५ जना महिला पुग्ने गरेको अस्पतालले जनाएको छ । यता थापाथली अस्पतालमा पनि दैनिक २०-२५ जना महिला महिनावारी गडबडीको समस्या लिएर पुग्ने गरेका छन् ।  यस्तै, निजीरूपमा सञ्चालन भएका फर्टिलिटीमा पनि यस्ता समस्या लिएर आउने महिलाको सङ्ख्या बढी छ । उता नरदेवीमा रहेको आयोर्वेदिक अस्पतालमा पनि दैनिक ५-६ जना महिला यस्तो समस्या लिएर पुग्ने गरेका छन् ।

किन हुन्छ महिनावारी अनियमित ?

कुनै पनि महिला बच्चा जन्माउन योग्य हुँदा उसको महिनावारी सुरु हुन्छ । जसलाई रजस्वला पनि भन्ने गरिन्छ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । यो हरेक महिना साामान्यतया २८ देखि ३५ दिनको अन्तरालमा हुने गर्छ ।  प्रजनन् क्षमता भएका महिलामा हरेक एक महिनामा एउटा अण्डा परिपक्क भएर बाहिर निस्कन्छ । त्यो बेला रत्तश्राव हुन्छ । 

हरेक महिलाको १४, १६ दिन या १८ दिनमा एउटा अण्डा बनेर फुट्ने गर्छ । तर महिनावारी अनियमित हुँदा यो अण्डा फुट्दैन । जसले गर्दा महिलामा महिनावारी हुनेक्रम २८ देखि ३५ दिनमात्र नभइ ६० देखि ७० दिनसम्म पुग्छ । जसलाई महिनावारी अनियमित भनिन्छ । स्त्रीरोग विशेषज्ञहरू अस्वस्थ खानपान र जीवनशैलीकै कारण यो समस्या देखिने गरेको बताउँछन् । उनीहरूका अनुसार यसको शिकार  किशोरीदेखि युवा वयस्क उमेर समूहका महिलाहरू हुने गरेका छन् । स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा  यो समस्या  पीसीओडी/पीसीओएस अर्थात (पोलिसिस्टिक ओभरी सिन्ड्रोम) र थाइराइडका कारण पनि हुन सक्ने बताउँछन् ।

पीसीओडी/पीसीओएस कसरी हुन्छ  ?

पीसीओडी/पीसीओएस भनेको महिलाहरूको डिम्बाशयसम्बन्धी समस्या हो । यो  हुनुका धेरै कारणहरू छन् । यसमध्येको एउटा कारण वंशाणुगत हो । परिवारमा कसैलाई यो समस्या देखिएको छ भने अर्को पुस्तामा पनि देखिने सम्भावना बढी हुन्छ ।  अर्को हर्मोन असुन्तलनका कारण पनि समस्या देखिन्छ । मान्छेको शरीरभित्र विभिन्न किसिमका हर्मोनहरू हुन्छन् । स्वस्थ रहन सबै हर्मोनको सन्तुलन कायम राख्नुपर्छ । तर हर्मोनको असुन्तलनका कारण शारीरिक समस्या देखिने गर्छन् । 

मानिसको शरीरमा इन्सुलिन भन्ने एउटा तत्व हुन्छ । जसले हामीले खाएको खानालाई शक्तिमा परिणत गर्छ । तर, कतिपय किशोरी महिलामा यसले काम गर्दैन । खाएका खाना शक्तिमा परिणत नभइ बोसोमा गएर बस्छ । बोसोले अर्को एउटा  हर्मोन बनाइदिन्छ । यसो हुँदा एउटा हर्मोन एकदम बढी अर्को कम हुँदा शरीरमा हर्मोनको तालमेल मिल्दैन । जसका कारण अण्डा बन्न छोड्छ । प्रायजसो महिलाको १४, १६ दिन या १८ दिन एउटा अण्डा बनेर फुट्ने गर्छ । तर यो अण्डा फुट्दैन । यो अण्डा नफुटेपछि शरीरमा भएको अर्को प्रोजेस्टेरोन भन्ने हर्मोनले बच्चा बसेन भने महिनावारी गराउँछ । त्यो हर्मोन बन्न बन्द हुन्छ । 

महिनावारी नियमित हुनका लागि मुख्यतया एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनहरूको सन्तुलन आवश्यक हुन्छ । जब यी हर्मोनहरूको स्तरमा उतारचढाव हुन्छ तब महिनावारी अनियमित हुन्छ ।  जसका कारण २-३ महिनापछि पाठेघर आफै बाक्लो हुँदै टुटेर रगतको रूपमा निस्कन्छ । यही इन्सुलिनले काम नगर्दा शरीरमा विभिन्न किसिमका समस्याहरू देखापर्छन् । यसलाई चिकित्सकीय भाषामा पीसीओडी/पीसीओएसको समस्या भन्छन् । 

यस्तो किन हुन्छ ?

स्त्रीरोग विशेषज्ञ डा.विनीता तिवारी खानपान र हाम्रो दैनिक जीवनयापनकै कारण महिलामा यस्तो समस्या देखा पर्ने बताउँछन् ।  हाम्रा हजुरआमा, आमाहरूले थाहा नपाएका रोगहरू अहिलेका महिला किशोरी अवस्थादेखि नै भाेग्दै आइरहेको उनकाे भनाइ छ । महिनावारी अनियमित हुनुको कारण पनि खानपान र दैनिकीमै आधार रहने बताउँदै उनी पछिल्लो पुस्ताका महिलामा यसको असर पर्ने गरेको बताउँछिन् ।

‘पहिलेका महिला घरभित्र भान्छामै पाइने खानेकुरा खान्थे, दिनभरि खेतबारीकै काममा व्यस्त हुन्थे,’ विशेषज्ञ तिवारी भन्छिन्, ‘आजभोलि त्यसको उल्टो छ, घरको खानेकुरा छोडेर,प्याकेटका कुरा खाने, दिनभरि बस्ने, काम गर्नुपरे पनि अफिसमै बसेर गर्ने गर्छन् जसले यस्ता रोगहरू देखा पर्न थाले ।’

उनी महिनावारी अनियमित हुनुको समस्या औषधी खाएर भन्दा दैनिकी परिवर्तन गरेरमात्र निको हुने बताउँछिन् । 

डा. ऐश्वर्या श्रेष्ठ महिलामा देखिने जति पनि समस्या छन् यसको समाधान पनि आफ्नै हातमा रहेको बताउँछिन् । दैनिकीमात्रै परिर्वतन गर्ने निको हुने यो समस्यालाई वेवास्ता गर्दा क्यान्सरसमेत हुने जोखिम रहेको भन्दै उनी यो समस्यालाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिन्छिन् । महिलाले खानपान र शारीरिक व्यायाममा ध्यान दिए भने पनि यो समस्याबाट मुक्त हुन सक्ने उनको अनुभव छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.