२०८१ मंसिर १२ गते १६:३६ विकासन्युज
काठमाडौं । पानीजहाज उद्योग अहिले सबैभन्दा ठूलो चुनाैतीसँग जुधिरहेको छ । नाविक (पानीजहाज चलाउने) अभावले यस उद्योगमा विभिन्न समस्या देखिएकाे सीएनबीसीले जनाएकाे छ । नाविक अभावले नक्कली सीभी, समुद्री दुर्घटना र उच्च माल ढुवानी दरजस्ता समस्याहरूलाई जन्म दिएको छ ।
‘हामी लगातार नाविकहरूको अभाव देखिरहेका छौं,’ ड्रियूरीका वरिष्ठ विश्लेषक रेट ह्यारिसले सीएनबीसीलाई बताए ।
पछिल्ला वर्षहरूमा जहाजहरूको संख्या हजारौंले ‘अत्यधिक रूपमा’ वृद्धि भए पनि ती जहाजहरूको लागि आवश्यक जनशक्तिको वृद्धि भने सोही अनुपातमा नभएको उनको भनाइ छ ।
‘कम्पनीले चाहेजति अनुभव भएका नाविकहरूलाई राख्न सकिरहेका छैनन्,’ ह्यारिसले थपे ।
उच्च पदका र विशेष गरी इन्जिनियरहरूको आपूर्ति डेक अफिसरहरूको तुलनामा कम रहेको उनले उल्लेख गरे ।
भूराजनीतिक घटनाहरूले समस्या झन् बढाए
रेड समुद्रमा हुथी आक्रमण र रुस-युक्रेन द्वन्द्वले दक्ष नाविकहरूको उपलब्धतामा गम्भीर असर पारेको छ । रुस र युक्रेनले पहिले नै ठूलो संख्यामा दक्ष नाविकहरू आपूर्ति गरेका थिए । तर युद्धका कारण यी दुई देशहरूबाट जनशक्ति आपूर्ति घटेको फर्टीस्ट्रीमका ग्लोबल रिसर्च प्रमुख डेइजिन लीले जानकारी दिए ।
२०२१ मा अन्तर्राष्ट्रिय चेम्बर अफ शिपिङ (आईसीएस) र बीआईएमसीओको रिपोर्टअनुसार फिलिपिन्स, चीन, रुस, युक्रेन र इन्डोनेसिया संसारका प्रमुख नाविक आपूर्तिकर्ता हुन् ।
रुसले युक्रेनमाथि आक्रमण गर्नु अघि, रुस र युक्रेनी नाविकहरूले विश्वव्यापी जहाज कार्यबलको झण्डै १५ प्रतिशत हिस्सा ओगटेका थिए।
आईसीएसका अनुसार, २०२६ सम्म ९० हजार प्रशिक्षित नाविकहरूको अभाव हुने अनुमान छ ।
‘नाविकहरूको अभाव सम्बोधन गर्न नीति निर्माताहरूले राष्ट्रिय रणनीतिहरू बनाउनु आवश्यक छ,’आईसीएसले भन्यो ।
‘उद्योगलाई फस्टाउन आवश्यक नाविकहरूको अभाव पूर्ति गर्न हामीले विविध कार्यबललाई सक्रिय रूपमा भर्ती गर्नु महत्त्वपूर्ण छ,’ संगठनले थप्यो ।
समुद्री पेसाको आकर्षण घट्दै
डानिका क्रुइङ स्पेसलिस्ट्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेनरिक जेन्सेनले बताएअनुसार अहिलेका कर्मचारीहरू समुद्रमा काम गर्नुभन्दा तटवर्ती रोजगारी रोजिरहेका छन् ।
‘अघिल्लो समयमा नाविकहरूको तलबले यो पेसा आर्थिक रूपमा आकर्षक बनाउँथ्यो । तर अहिलेका युवाहरू वर्कलाइफ ब्यालेन्सलाई प्राथमिकता दिइरहेका छन्,’ फर्टीस्ट्रीमका लीले भने ।
इन्टरनेट र मोबाइलमा हुर्किएको पुस्ताका लागि समुद्रमा स्थायी रूपमा कनेक्टिभिटीबिना बस्नु बाध्यता छैन ।
यही समस्यालाई सम्बोधन गर्न धेरै कम्पनीहरूले जहाजमा मनोरञ्जन केन्द्र, जिम र छोटो यात्रा अवधिहरू (२ देखि ४ महिना) प्रस्ताव गर्न थालेका छन् ।
नक्कली सीभी र दुर्घटना
नाविक अभावका कारण कम्पनीहरूले सीमित जनशक्ति आकर्षित गर्न उच्च तलबको प्रस्ताव गरिरहेका छन् । तर यसले गर्दा नक्कली सीभी बुझाएर अयोग्य व्यक्ति काममा बस्ने समस्या देखिएको छ ।
‘धेरै मानिसले आफ्नो सीभीलाई झुटो जानकारीले सजाएर उच्च पद र तलब पाउने प्रयास गरिरहेका छन्,’ जेन्सेनले बताए ।
यसले जहाजको सुरक्षा र दक्षतामा असर पारेको छ र जहाजमा रहेका व्यक्तिहरू यसको मूल्य चुकाइरहेका छन् ।
‘यो ठूलो अभाव हो । यसले मलाई असर गरिरहेको छ । म मेरो चालक दलका लागि उपयुक्त व्यक्तिहरू पाउन सकिरहेको छैन,’ एक विश्वव्यापी शिपिङ कम्पनीका कप्तानले भने ।
‘नाविकहरूको स्तर घट्दैछ । किनभने अहिले उनीहरूलाई कुनै पनि व्यक्ति चाहिन्छ, जससँग लाइसेन्स होस्,’ कप्तानले थपे । साथै पछिल्ला दिनहरूमा उनले दक्षतामा प्रश्न उठेका धेरै नाविकहरूलाई बर्खास्त गर्नुपरेको पनि बताए ।
अहिलेका नाविकहरूलाई कम जनशक्ति उपलब्ध भएकाले लामो अवधि समुद्रमा रहनुपर्ने स्थिति छ । यसले उत्पन्न हुने थकान र तनावले केही व्यक्तिहरूको मानसिक स्वास्थ्यलाई असर पुर्याउन सक्छ र जहाजमा दुर्घटनासमेत निम्त्याउन सक्छ ।
विश्व समुद्री विश्वविद्यालयको २०२४ अध्ययनका अनुसार ९३ प्रतिशत नाविकहरूले थकानलाई प्रमुख चुनौती भनेका छन् ।
७८ प्रतिशतले आफ्नो सम्पूर्ण सम्झौताभरि पूर्ण रूपमा कुनै बिदा नपाएको बताए। थकानले मानसिक स्वास्थ्यलाई असर पार्न सक्छ, जसले दुर्घटनाहरू निम्त्याउन सक्छ ।
‘अनुभवको कमी, उचित मर्मतको अभाव र थकानको मिश्रणले जहाज र चालक दलको सुरक्षा खतरामा पार्छ,’ ओम म्यारिटाइमका कार्यकारी निर्देशक सुभाङ्शु दत्तले भने ।
आर्थिक भार
महासागरमार्फत् हुने समुन्द्री ढुवानी विश्व आपूर्ति श्रंखलाको अभिन्न अंग हाे । संयुक्त राष्ट्र व्यापार र विकास संगठनका अनुसार समुद्री ढुवानीले विश्व व्यापारको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ ।
‘नाविकहरूको तलब जहाजको सञ्चालन खर्चको ठूलो हिस्सा हो, जसलाई कम्पनीहरूले नयाँ प्रतिभा आकर्षित गर्न र कायम राख्न तलब बढाएसँगै उच्च रहिरहने अपेक्षा गरिएको छ,’ लीले भने ।
उनका अनुसार तलब वृद्धिको कारणले भाडादर पनि उच्च रहने सम्भावना छ, जसले अन्ततः मुद्रास्फीति दबाब थप्न सक्छ ।
अन्य विज्ञहरू पनि यसमा सहमत छन् कि नाविकहरूको अभाव केही वर्षसम्म रहिरहनेछ, र यो उद्योगले सामना गर्नुपर्ने ठूला चुनौतीहरूमध्ये एक हो ।
‘यो वास्तवमै उद्योगका लागि सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक हो,’ लीले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.