२०८१ मंसिर १२ गते १७:२३ विकासन्युज
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरणविक्रम शाही समग्रमा ११-अन्डर २०५ को स्कोरमा शीर्ष स्थानमा कायमै रहेका छन् ।
उनले बुधबार १-अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सदभाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् ।
एमेच्योरद्वय सदभाव र राहुल ५४-होलको समाप्तिमा ७-अन्डर २०९को स्कोरमा संयुक्त रूपमा दोस्रो स्थानमा रहे ।
गोकर्ण गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन सदभावले दिनको उत्कृष्ट कार्ड निकाले । ६-अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए। राहुलले२-अन्डर ७० को स्कोर दर्ज गरे।
धरानका प्रो निरज तामाङले १-अन्डर ७१ को स्कोर जोडे । समग्रमा ४-अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए । दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५-ओभर ७७ को खराब प्रदर्शन गरे । यो प्रदर्शनमा उनी समग्रमा १-अन्डर २१५ सहित पाँचौं स्थानमा तल झरे । जयराम श्रेष्ठले आज १-अन्डर ७१ को स्कोरमा, समग्रमा इभन-पार २१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन् ।
समग्रमा २-ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसीले संयुक्तरूपमा सातौं स्थान बाँडे । रवि र कृष्णमानले समान १-अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए । राजेन्द्रले २-ओभर ७४ खेले । फाइनल ग्रुपमा खेलेका सुनिलले बिर्सनलायक ९-ओभर ८१ को स्कोर निकाले । यो स्कोरमा उनी पाँच स्थान तल झरे ।
अनुभवी तोरणले तेस्रो दिनको सुरुवात सानदार गरे । पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे। ६ होल सकिँदा ४-अन्डर स्कोर गरिसकेका थिए भने नवौं होलको बोगीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । तर यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए । १२औं, १५औं र १६औं होलमा एक-एक सट खेर फाले । १३ औं होलको बर्डीका बाबजुद ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए । तर पनि अन्तिम १८ होलको खेल बाँकी छँदा उनले आफ्नो अग्रता ४ स्ट्रोकमा पुर्याएका छन् ।
सदभावले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार गर्ने क्रममा कुल सात बर्डी प्रहार गरे। पहिलो, तेस्रो र सातौं होलमा एक-एक सट बचाउँदा फ्रन्टनाइन ३-अन्डर ३३ मा सकाए । यसपछि ११औं देखि १४औं होलमालगातार चार बर्डी प्रहार गरे । १५औं होलको बोगीले ब्याक नाइन३-अन्डर ३३ मा पुरा गरे ।
अर्का एमेच्योर राहुलले सातौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्टनाइन २-अन्डर ३४ मा पुरा गरे । ११औं होलको बोगीविरुद्ध १५ औंहोलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए ।
चौथो स्थानमा रहेका निरजले फ्रन्ट नाइन १-ओभर ३७ र ब्याक नाइन२-अन्डर ३४ मा खेले । उनले पहिलो र सोह्रौं होलमा एक-एक सट खेर फाले भने १२औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे ।
चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.