२०८१ मंसिर १२ गते १९:२१ विकासन्युज
काठमाडाैं । पछिल्लो एक वर्षमा जीवन बीमा कम्पनीहरू (लघु बाहेक) मा ३७ जना कर्मचारी थपिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार २०८० असोज मसान्तको तुलनामा २०८१ असोज मसान्तसम्म ३७ जना कर्मचारी थपिएका हुन् ।
जसमध्ये सबैभन्दा धेरै कर्मचारी प्रमुख महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा थपिएको तथ्यांकले देखाउँछ । प्रभु महालक्ष्मीमा पछिल्लो एक वर्षमा २४ जना कर्मचारी थपिएका छन् । २०८० असोज मसान्तसम्म प्रभु महालक्ष्मी लाइफमा ४१६ जना कर्मचारी थिए । २०८१ असोज मसान्तसम्म सो कम्पनीको कर्मचारी संख्या ४४० पुगेको हो ।
यसैगरी, एशियन लाइफमा २० जना र हिमालयन लाइफमा १५ जना कर्मचारी थपिएका छन् । एशियन लाइफमा २०८० असोज मसान्तसम्म ४ सय २४ जना कर्मचारी थिए । २०८१ असोज मसान्तसम्म सो कम्पनीमा ४ सय ४४ जना कर्मचारी रहेका छन् । यसैगरी, हिमालयन लाइफमा २०८० असोज मसान्तसम्म ७६१ जना थिए भने २०८१ असोज मसान्तसम्म ७७९ जना पुगेका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्समा ३९० जनाबाट बढेर ४०५ जना पुगेका छन् । अर्थात् पछिल्लो एक वर्षमा सन नेपाल लाइफमा १५ जना कर्मचारी थपिएका छन् । यसैगरी, सानिमा रिलायन्स लाइफमा १२ जना, सूर्यज्योति लाइफमा ९ जना, राष्ट्रिय जीवन बीमा कम्पनीमा ४ जना र एलआईसी नेपालमा ३ जना कर्मचारी थपिएका छन् ।
समग्रमा माथि उल्लेखित ८ कम्पनीमा १०५ जना कर्मचारी थपिएका छन् । पछिल्लो एक वर्षमा रिलायबल नेपाल लाइफमा कर्मचारी थपिएका पनि छैनन् भने घटेका पनि छैनन् । सो कम्पनीमा २३९ जना कर्मचारी रहेका छन् ।
कति घटे ?
५ वटा जीवन बीमा कम्पनीबाट मात्रै ६८ जना कर्मचारी घटेका छन् । पछिल्लो एक वर्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा मात्रै ३४ जना कर्मचारी घटेका हुन् । सो कम्पनीमा ६६३ बाट घटेर ६२९ जना कर्मचारी रहेका छन् ।
यस्तै, नेशनल लाइफ इन्स्योरेन्समा ३० जना कर्मचारी घटेका छन् भने आईएमई लाइफबाट २, सिटिजन लाइफबाट १ र मेट लाइफबाट १ जना कर्मचारी घटेका हुन् ।
नेशनल लाइफमा २०८० असोज मसान्तसम्म ५३० जना कर्मचारी थिए । २०८१ असोज मसान्तसम्म आइपुग्दा सो कम्पनीमा ५०० जनामात्र कर्मचारी रहेका छन् ।
आइएमई लाइफमा कार्यरत कर्मचारीको संख्या २६२ बाट २६० जनामा झरेको छ भने सिटिजन लाइफमा कार्यरत कर्मचारीको संख्या २७४ जनाबाट २७३ जनामा र मेटलाइफमा कार्यरत कर्मचारीको संख्या १६८ बाट १६७ जनामा झरेको छ ।
सबैभन्दा धेरै कर्मचारी रहेको कम्पनीको रूपमा हिमालयन लाइफ रहेको छ, जहाँ ७७९ जना कर्मचारी कार्यरत छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.