स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु

  २०८१ मंसिर १३ गते ९:५२     विकासन्युज

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाइने छैन ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ ।

आगामी मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् ।

४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसकै टीकाकुमारी चौधरी (भुल)निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.