२०८१ मंसिर १४ गते ११:१७ विकासन्युज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी लक्ष्यको भन्दा आधा देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा १२.५ प्रतिशतको लक्ष्य राखेकोमा असोज मसान्तसम्म ६.२ प्रतिशतमात्रै कर्जा प्रवाह भएको हो ।
यस्तै, राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय १२.० प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत रहेको उल्लेख गरेको छ ।
राष्ट्र बैंकले लक्ष्यअनुरूप कर्जा लगानी नभएको बताएको छ भने अब विस्तारै कर्जा लगानी बढ्ने अनुमान गरेको छ ।
यस्तै, राष्ट्र बैंकले मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको उल्लेख गरेको छ । २०८१ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको उल्लेख छ ।
कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ असोज मसान्तमा १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा उल्लेख गरिएको छ ।
मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर ३.०० प्रतिशत रहेको बताइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.