मौद्रिक नीतिको समीक्षालाई लिएर रियल स्टेट व्यवसायी आक्रोशित

  २०८१ मंसिर १४ गते १२:१९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा आफ्ना मागहरू नसमेटिएको भन्दै रियल स्टेट व्यवसायी आक्रोशित भएका छन् । रियल स्टेट व्यवसायीहरूले मौद्रिक नीतिमार्फत रियल स्टेट क्षेत्रको नीतिगत सुधारको अपेक्षा गरेका थिए ।

उनीहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै सुधार गर्नुपर्ने विभिन्न नीतिगत व्यवस्थाको माग राखेका थिए । तर, त्यस्तो माग सम्बोधन नभएपछि व्यवसायीहरू चिन्तित बनेका हुन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघ यस क्षेत्र सुधारको लागि विभिन्न ६ वटा सुझावसहितको माग गभर्नर अधिकारीसमक्ष प्रस्तुत गरेका थिए । उनीहरूले मसिंरको पहिलो साता सुझाव पेश गरेका थिए । जसमध्ये एउटा माग पनि सम्बोधन नभएपछि आफूहरू चिन्तित भएको महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले बताए ।

घरजग्गाको कारोबार सुस्ताउँदा समग्रह अर्थतन्त्रमा नै नकरात्मक असर परेको र सो विषयमा गभर्नर अधिकारीले नबुझेको उनको भनाइ छ । यस्तै, महासचिव घिमिरेले रियलस्टेट कारोबार चलायमान हुँदा यहाँका उद्योगहरू पनि चलायमान हुँदै जाने र अर्थतन्त्र पनि चलायमान हुने बताए ।

अर्थविज्ञहरूले पनि रियल स्टेट कारोबार सुस्ताएका कारण आर्थिक मन्दि भएको उल्लेख गरिरहेको परिप्रेक्ष्यमा राष्ट्र बैंकले त्यस विषयको गम्भीर्यतालाई नजरअन्दाज गरेको उनको आरोप छ ।

यस्तै, नेपाल जग्गा तथा आवास विकास संघ अध्यक्ष विदुर धमलाले पनि नेपाल राष्ट्र बैंकले रियल स्टेट क्षेत्रलाई उपेक्षा गरेको बताए । उनले पनि रियल स्टेट क्षेत्र चलायमान बनाउने नीति अवलम्बन गर्दा अर्थतन्त्र नै चलायमान हुने बताउँदै राष्ट्र बैंकले यस विषयलाई वेवास्ता गरेकोमा उनले चिन्ता व्यक्त गरे ।

रियल स्टेट क्षेत्र चलायमान गर्न भन्दै महासंघले यी ६ सुझाव दिएको थिए

१. अनुमतिप्राप्त रियल स्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने 
२. कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत गर्नुपर्ने 
३. रियल स्टेट व्यवसाय गर्ने कम्पनीहरूलाई प्रदान गरिने कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्नुपर्ने 
४. रियल स्टेट कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्नुपर्ने 
५. अर्थतन्त्र चलायमान नभएको वर्तमान परिप्रेक्ष्यमा कर्जाको प्रिमियम घटाउनुपर्ने 
६. रियल स्टेट कर्जालाई वर्किङ क्यापिटल गाइडलाइन लागू नगर्नका लागि स्पष्ट निर्देशन दिनुपर्ने 

यो पनि : राष्ट्र बैंकले भन्यो : लचिलो मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.