२०८१ मंसिर १७ गते १७:५१ इन्द्रसरा खड्का
काठमाडौं । विश्वका विभिन्न देशमा खुलेका खुला विश्वविद्यालयले अन्य विश्वविद्यालयलाई चुनौती दिँदै अघि बढिरहेको छन् । तर नेपालमा रहेको विश्वविद्यालय भने आन्तरिक विवादले थिलथिलो बनेको छ । कहिले डीन नियुक्त हुन नसकेको, कहिले डीन नै कारवाहीमा परेको, कहिले उपकुलपतिले नै एकलौटी निर्णय गर्ने गरेका खबरहरू बारम्बार आइरहन्छन् ।
आन्तरिक किचलाे र राजनीतिक विवादले स्थापना भएको ७ वर्षसम्म पनि यो विश्वविद्यालय न विद्यार्थीको रोजाइमा पर्न सकेको छ, न त उँभाे लाग्न सकेको छ । बरु यस्तै अवस्था रहने हो भने अधोगतिको यात्रा निश्चितजस्तै छ । खुला विश्वविद्यालय नेपालका अन्य विश्वविद्यालयभन्दा कङ्गालको रूपमा खडा भएको उपकुलपति नै बताउँछिन् ।
विकासन्यूजको शैक्षिक बहसमा बोल्दै खुला विश्वविद्यालयका उपकुलपति प्राडा शीलु मानन्धर बज्राचार्यले नेपालमा रहेका सबै विश्वविद्यालय मध्ये कङ्गाल विश्वविद्यालयको भएको बताएकी थिइन् ।
२०७३ सालमा स्थापना भई २०७५ सालमा कक्षा सञ्चालनमा आएको खुला विश्वविद्यालयले सुरुवाती चरणमा सुरु गरेका तीनवटा सङ्कायमा मात्र कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिलेसम्म सङ्काय पनि थप गर्न नसकेको विश्वविद्यालयले विषय मिल्दाजुल्दा नरहेकालाई पनि एउटै सङ्कायमा राखेको गुनासो आउन थालेका छन् ।
विश्वविद्यालयकी उपकुलपति मानन्धरले आफ्नो कार्यकालमा सङ्काय बढाउने सोंच भएपनि बढाउन नसकेको बताउँछिन् । अहिले विज्ञान स्वास्थ्य र प्रविधि संकाय, सामाजिक विज्ञान र शिक्षा सङ्काय र व्यवस्थापन र कानुन सङ्कायमा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
‘सुरुवातीदेखि यो विश्वविद्यालयमा तीनवटा सङ्काय मात्र छन्, मेरो थप तीनवटा सङ्काय थपेर ६ वटा पुर्याउने लक्ष्य थियो, तर सकिनँ,’ उनी भन्छिन्, ‘बरु म्यानेजमेन्ट एण्ड ल एउटै सङ्कायमा राखिएको छ, नमिल्ने विषय एकै ठाउँमा किन राखेको भन्ने कुराहरू पनि आइरहेको छ, अब मेरो बाँकी कार्यकालमा केही थप्ने र यो छुट्याउने प्रयास गर्नेछु ।’
सन् २०१० मा गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा शिक्षा मन्त्रालयबीच भएको सहमति र सार्कमा खुला विश्वविद्यालय स्थापना गर्न नेपालले जनाएको प्रतिबद्धताअनुसार खुला र दूर सिकाइको विधिमार्फत अध्ययन अध्यापन सञ्चालन गर्न नेपालमा खुला विश्वविद्यालय स्थापना भएको हो । संसदबाट नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ पारित भएपछि नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयका कक्षाहरू सञ्चालन हुँदै आएका छन् ।
अन्यभन्दा के फरक ?
खुला विश्वविद्यालय नेपालमा रहेका अन्य विश्वविद्यालय भन्दा फरक उद्देश्यले सञ्चालनमा आएको हो । नवीनतम प्रविधिको आधारमा दूरदराजमा रहेका कामकाजी अथवा उच्च शिक्षामा पहुँच नपुगेकाहरूलाई पहुँच पुर्याउने, सबै खालको मान्छेलाई शिक्षाको पहुँचमा पुर्याउने अथवा समावेशी शिक्षा दिने परिकल्पनाले यो विश्वविद्यालयको स्थापना गरिएको हो ।
यो विश्वविद्यालयमा विद्यार्थी भर्ना, अध्ययन गर्ने स्थान, समय र अध्यापन गराउने तरिका फरक हुन्छ । अन्य क्याम्पसजस्तै यहाँ अध्ययन गर्ने विद्यार्थीले कलेज धाइराख्नु पर्दैन । यहाँ विद्यार्थीहरूले काम गर्दै आफ्नो समयानुकूल समयमा अध्ययन गर्न सक्छन् । यहाँको शिक्षण प्रणाली लचिलो छ । घरमै बसेर पढ्न सकिने यो विश्वविद्यालयमा जति विद्यार्थीको आकर्षण हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।
करिब २ हजारमात्र विद्यार्थी
नेपालमा रहेका १४ वटा विश्वविद्यालयमध्ये हाल १२ वटा विश्वविद्यालयमा अध्यापन हुँदै आएको छ । तर, धेरैजसो विश्वविद्यालयमा विद्यार्थीको संख्या पुरा छैन । विश्वविद्यालयको उद्देश्य योजनाअनुसार सबैभन्दा धेरै विद्यार्थी खुला विश्वविद्यालयमा हुनुपर्ने हो । तर, यहाँ करिब २ हजार विद्यार्थीहरू मात्र छन् ।
व्यावसायिक, ग्रामीण, सरकारी कर्मचारी र ग्रामीण क्षेत्रका व्यक्तिहरूलाई केन्द्रित गर्दै सञ्चालनमा आएको विश्वविद्यालय उनीहरूकै पहुँचमा आउन नसकेको जानकारहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालयका पूर्वप्रोफेसर कपिल श्रेष्ठ यो विश्वविद्यालयले विद्यार्थीहरूलाई आकर्षण गर्न नसकेको बताउँछन् ।
नयाँ कार्यक्रम, केही सुविधा दिएर विद्यार्थीलाई ल्याउन सकेको भए यसलाई विद्यार्थी थेग्न नै गाह्रो हुनसक्ने उनको भनाइ छ । अन्य विश्वविद्यालयजस्तै राजनीति गर्ने थलो मात्र बनेको उनी बताउँछन् । विश्वविद्यालयका उपकुलपति स्वयं पनि यो कुरा स्विकार्छिन् । उपकुलपति मानन्धर नयाँ कार्यक्रम ल्याएर विद्यार्थीमाझ पुग्न सकेको भए सबैभन्दा धेरै विद्यार्थी खुलाले पाउन सक्ने भन्दै यसमा आफूले काम गर्न नसकेको सहजै स्विकार्छिन् ।
यो विश्वविद्यालयमा विदेशमा रहेका केही नेपालीहरू पनि अध्ययन गरिरहेका छन् । उपकुलपति मानन्धर विदेशमा रहेका नेपाली संघ संस्थाहरूले डेढ वर्षअघि यो-यो विषयमा यति विद्यार्थी पढाइदिनुहोस् भन्ने कुरा आउँदा पनि नसकेको बताउँछिन् ।
‘अवसर थियो तर गर्न सकिएन,’ उनी भन्छिन्, ‘सातवटै प्रदेशमा अध्ययन केन्द्र सञ्चालन गर्ने भन्ने सोचेको थिएँ, त्यहाँ पनि पुग्न सकिएन, कार्यक्रमलाई अलि व्यापक तरिकाले अगाडि बढाउने चाहना थियो, त्यो पनि सकिएन, यसका पछाडि कारण धेरै छन् ।’
छैन आफ्नो भवन, न त छ जग्गा
खुला विश्वविद्यालयको न आफ्नो भवन छ, न त आफ्नो जग्गा नै । अहिलेसम्म यो विश्वविद्यालयमा भाडाको घरमा चलिरहेको छ । दुईवटा भवन भाडामा लिएर शैक्षिक सेवा दिरहेको विश्वविद्यालयले मासिक पाँच लाख भाडा तिर्ने गरेको छ ।
आफ्नो भौतिक संरचना नहुँदा पनि काम गर्न समस्या भएको विश्वविद्यालयले जनाएको छ । ‘आफ्नो भवन छैन, मासिक भाडा तिर्दा ठिक्कै छ, आफ्नो पनि जग्गा छैन,’ उपकुलपति मानन्धर भन्छिन्, ‘पहिले बनाउने हिम्मत गरिएन, अहिले जग्गाकै यकिन छैन, संरचना नहुँदा काम गर्न अर्को चुनौती थपिएको छ ।’
२०७४ सालमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल हुँदा खुला विश्वविद्यालयको लागि भन्दै भक्तपुरको सानोठिमीमा रहेको सरकारी जग्गा छुट्याइएको थियो । तर, अहिलेसम्म त्यो जग्गा न खुला विश्वविद्यालयले उपभोग गरेको छ, न उसको नाममा नै दर्ता भएको छ । तर, त्यो जग्गामा साइनबोर्ड भने खुला विश्वविद्यालयको लगाएको छ ।
‘जग्गा दिएकै बेला आँट गरेर टहरामात्र बनाएको भएपनि हुन्थ्यो, सकिएन अहिले जग्गा नै दिएको हो कि होइन भन्ने नै दोधार छ,’ उपकुलपति भन्छिन्, ‘ तिमीलाई नै भयो भनेर मुख फोरेको छैन, उबेला शिक्षामन्त्री हुँदा गिरिराजमणिले अर्को व्यवस्था नहुँदासम्मको लागि भन्नुभएको थियो, खोइ अब लगाउने आँट गर्दा के पो हुन्छ, तर आँटै गर्न सकिएको छैन ।’
जग्गाको विषयमा अहिलेका शिक्षामन्त्रीले पहल गरिदिने आशामा उनी छिन् ।
उपकुलपतिमाथि शिक्षक-कर्मचारीलाई वेवास्ता गरेको आरोप
खुला विश्वविद्यालयमा अहिलेसम्म स्थायी कर्मचारी छैनन् । २०७५ सालमा लिखित, प्रयोगात्मक र मौखिक तीनै चरणमा नाम निकालेर करारमा नियुक्त शिक्षक-कर्मचारी भने ३० जना छन् । तर उनीहरूको हातमा अहिलेसम्म स्थायीपत्र छैन । उनीहरूले बेला-बेला स्थायी हुनुपर्ने आवाज नउठाएका हैनन् । तर, उपकुलपतिले आफ्नो कुरा नसुनेको आरोप शिक्षक कर्मचारीको छ ।
उपकुलपतिले शिक्षक-कर्मचारीलाई बेवास्ता गरेको भन्दे कर्मचारीले विश्वविद्यालयमा तालबन्दीसमेत गरेका छन् । खुल्ला विश्वविद्यालयका शिक्षक कर्मचारी संघर्ष समितिका अध्यक्ष भोजराज घिमिरेले पटक-पटक यो कुरा उठाउँदा पनि सुनुवाइ नभएकाले तालाबन्दी गर्नुपरेको सुनाए ।
उनले आफूहरू लोकसेवा आयोगले लिने तीनवटै चरण पुरागरी आएको भएपनि स्थायी गर्ने विषयमा अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरे । यो कुरामा उपकुलपति मानन्धर आफू पनि स्थायी गर्न हुँदैन भन्ने पक्षमा नरहेको बताउँछन् । ‘स्थायी हुनुपर्छ भन्ने कुरामा मेरो कुनै आपत्ति छैन,’ उनी भन्छिन्, ‘यसमा मेरो पनि सहमति हो तर, शिक्षक-कर्मचारीले मेरो व्यस्ततालाई बुझ्ने कोसिस गरेनन् ।’
उपकुलपति मानन्धर स्वयं मानव संसाधनको कमी हुँदा काम गर्नै समस्या भएको जिकिर गर्छिन् । उनले विश्वविद्यालयमा अधिकृत सरहको कर्मचारी नरहेको बताइन् । ‘कर्मचारीको कुरा गर्ने हो भने हामीसँग अधिकृत तहका कर्मचारी छैनन्, अहिले जम्मा करिब ३० जनामात्र कर्मचारी छन्, अन्य शिक्षक सबै पार्ट टाइमका हुनुहुन्छ, ’ भन्छिन, ‘नियममा अधिकृत तहको कर्मचारीभन्दा अरूले पत्राचार गर्न मिल्दैन भन्ने छ तर, हामीकहाँ त्यो तहको कर्मचारी नै छैन ।’
प्रविधि पनि छैन
यो विश्वविद्यालय प्रविधिमा आधारित विश्वविद्यालय हो । किनकि प्रविधिकै माध्यमबाट यहाँ पठनपाठन गरिन्छ । सुदूरपूर्व र सुदूरपश्चिमका दूरदरारमा रहेका विद्यार्थीलाई अध्ययन गर्न इन्टरनेट र प्रविधि आवश्यक पर्छ ।
विद्यार्थीले घरमै बसेर पढ्न मोबाइल, ल्यापटप र इन्टरनेट अनिवार्य चहिन्छ । तर अहिलेसम्म यो विश्विद्यालयको आफ्नै आइसीटी इन्फास्ट्रक्चर छैन । अहिले पनि जेआइडीसीमा भर पर्नुपर्ने अवस्था छ ।
यसमा कुनै समस्या आउने बित्तिकै सबै डाटा उड्ने समस्या छ । आफ्नो संरचना नहुँदा यो विषयमा पनि काम गर्न नसकेको उपकुलपतिको दाबी छ । उनी भन्छिन्, ‘आफ्नै स्रोत र सामग्री भएको भए यस्तो झमेला बेहोर्नुपर्ने अवस्था हुँदैनथियो, अहिले पटक-पटक यो समस्या पनि झेल्नुपरेको छ ।’
आन्तरिक विवादको चक्रव्यूह
स्थापनाकालदेखि अहिलेसम्म विश्वविद्यालयले प्रगति गर्न नसक्नु भनेको आन्तरिक विवाद नै रहेको उपकुलपति मानन्धरको दाबी छ । उनी आन्तरिक विवादले चाहेको काम पनि गर्न नपाएको बताउँछिन् ।
कहिले अदालत धाउँदै, आन्तरिक विवाद मिलाउँदै आफ्नो आधा कार्यकाल बाँकी रहेको उनको भनाइ छ । विश्वविद्यालयको आन्तरिक विवाद हुनुको पछाडि राजनीति हो । उपकुलपति, रजिष्टार र डीन फरक-फरक पार्टीको भएकाले कुरा नमिलेरै आन्तरिक द्वन्द्व सिर्जना भएको विज्ञहरू बताउँछिन् ।
उपकुलपति विश्वविद्यालयलाई राम्रो बनाउन उपकुलपतिदेखि लिएर डीन, रजिष्टार नियुक्ति प्रक्रियामै ध्यान दिनुपर्ने बताउँछिन् । ‘प्रमुख नियुक्त भइसकेपछि टिम बिल्ड गर्ने अधिकारी पनि त्यसलाई नै दिनुपर्छ,’ उनी भन्छिन्, ‘प्रमुख नियुक्त गर्ने बेलामै पोजिटिभ , त्यो विषयको ज्ञाता र नेटवर्क भएको हुनुपर्यो, तर यहाँ काम नगर्ने बरु समस्या सिर्जना गर्ने हुँदा समस्या हुन थाल्यो ।’
केही दिन अघिमात्र विश्वविद्यालयमा शिक्षक-कर्मचारीले ताला लगाएका थिए । लामो समयदेखि करारमा नियुक्त शिक्षक कर्मचारीले स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनसमेत गरेका थिए । केही दिनसम्म लगाइएको ताला बल्ल सहमतिपछि खुलेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.