२०८१ मंसिर १८ गते १२:३८ विकासन्युज
काठमाडौं । ऋणमा डुबेका भारतीय उद्योगपति अनिल अम्बानीको अर्को कम्पनी समस्यामा परेको छ । बजार नियामक भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी)ले रिलायन्स बिग इन्टरटेनमेन्टको बैंक खाताको साथमा सेयर र म्युचुअल फन्ड खाताहरू जफत गर्न आदेश दिएको छ ।
रिलायन्स बिग इन्टरटेनमेन्टले जरिवाना नतिरेकोमा सेबीले यस्तो आदेश दिएको हो ।
सेबीले यसअघि नोभेम्बर १४ मा रिलायन्स बिग इन्टरटेनमेन्ट प्रालिलाई एक नोटिस पठाउँदै रिलायन्स होम फाइनान्स लिमिटेडको रकम दुरुपयोगको मामिलामा १५ दिनभित्र बक्यौता तिर्न भनेको थियो ।
बजार नियामकले बक्यौता असुल गर्नका लागि कम्पनीको बैंक, डिम्याट खाता र म्युचुअल फण्डको फोलियो जफत गर्न आदेश दिएको छ ।
नोटिसका अनुसार रिलायन्स बिग इन्टरटेनमेन्टले २६ करोड भारु तिर्न बाँकी छ, जसमा ब्याज र वसुली लागत समावेश छ ।
खातामा रोक
सेबीलेले सबै बैंक, डिपोजिटरी र म्युचुअल फन्डलाई खाताबाट कुनै पनि रकम निकाल्न अनुमति नदिन आग्रह गरेको छ । गत हप्ता नियामकले तीन कम्पनीलाई कम्पनीबाट अवैध रकम झिक्ने गरी कुल बक्यौता ७८ करोड भारु असुली गर्न सूचना पठाएको थियो ।
यी कम्पनीहरू आधार प्रोजेक्ट म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सी प्राइभेट लिमिटेड, इन्डियन एग्री सर्भिस प्राइभेट लिमिटेड र मोहनवीर हाई-टेक बिल्ड प्राइभेट लिमिटेड हुन् ।
अगस्टमा सेबीले अनिल अम्बानी, रिलायन्स होम फाइनान्सका पूर्व प्रमुख कार्यकारीहरू र अन्य २४ संस्थाहरूलाई धितो बजारबाट कम्पनीको रकम चोरेकोमा पाँच वर्षको लागि प्रतिबन्ध लगाएको थियो । साथै, उनलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाइएको थियो ।
गत भदौमा अनिल अम्बानीको एउटा कम्पनी ऋणमुक्त भएको थियो । रिलायन्स पावरको सहायक कम्पनी रोजा पावर सप्लाई कम्पनीले सिंगापुरको ऋणदाता भेर्डे पार्टनरलाई ४८५ करोड भारु ऋण चुक्ता गरेसँगै रोजा पावर ऋणमुक्त कम्पनी बनेको थियो ।
अनिल भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ हुन् । (एजेन्सीको सहयोगमा)
Copyright © 2024 Bikash Media Pvt. Ltd.