कतार एयरवेजले रोक्यो गौतमबुद्ध विमानस्थलमा उडान

  २०८१ मंसिर १८ गते १६:२१     विकासन्युज

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै आएको नियमित उडान १९ दिनमै रोकेको छ । कतार एयरवेजले १५ मंसिरबाट गौतमबुद्ध विमानस्थलमा उडान रोकेको विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतले जानकारी दिए ।

कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको कतार एयरवेजले मंसिर १५ गतेबाट उडान रोकेको हो । १९ दिनमा एयरवेजले ३८ वटा उडान तथा अवतरण गरेको थियो ।

सूचना अधिकृत रावतले विमान कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमति लिएकाले त्यसपछि उडान स्थगित गरेको जानकारी दिए । उसले थप उडान अनुमति नलिएको उनले बताए ।

उडानको अनुमति केन्द्रबाटै हुने कानुनी प्रावधान छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भने नियमित उडान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.