सुपारी खेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार, डिएनए परीक्षण अन्योल

  २०८१ मंसिर १९ गते ७:४४     विकासन्युज

काठमाडौं । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेर मात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ ।

नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई ८ अर्बदेखि १२ अर्ब रुपैयाँसम्म पर्छ ।

नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारी खेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताए ।

‘संसदीय समितिले डिएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ, दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डिएनएन, केही अत्तोपत्तो छैन,’ उनले भने ।

विसं २०७९ साउन १३ गते राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन विकास समितिले डिएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उनले बताए । डिएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन ।

देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ । इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डिएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । डिएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन् । गत वर्षदेखि सुपारी निर्यात भएको छैन ।

मेचीनगर नगरपालिकाका जीवन पाण्डे यो वर्ष पनि सुपारी नबिक्ने चिन्ताले पिरोलिएका छन् । धान खेत मासेर उनले डेढ बिघामा सुपारीखेती गरेका छन् ।

‘बोटमा लटरम्म दाना छन्, किन्ने व्यापारी आउँदैनन्,’ किसान पाण्डेले समस्या सुनाउँदै भने, ‘दुई वर्षअघि व्यापारी सुपारीका चिचिला लाग्दादेखि आउँथे ।’

मेचीनगर-४ बाहुनडाँगीका वडासदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारीकरणमा पनि सहजीकरण नगरेको गुनासो गरे । बाहुनडाँगीमा जङ्गली हात्तीले धान, मकैलगायत बाली नोक्सान गर्न थालेपछि किसान जीविकाका लागि सुपारी, चियालगायत नगदेबालीतर्फ आकर्षित भएका तर सुपारी नबिक्दा किसानको बिचल्ली भएकामा उनले दुःख व्यक्त गरे ।

झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन् । यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित छन् । सङ्घका अध्यक्ष तिवारी सुपारीको डिएनए परीक्षणमा अल्झिन नहुने बताउँछन् । सरकारले दानाको डिएनए परीक्षण हुनुपर्ने बताए पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डिएनए सम्भव नहुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.