उद्यमीलाई नपत्याउने बैंक, पैसाभन्दा पहिला आइडिया

  २०८१ मंसिर २१ गते १३:५३     शिलशिला आचार्य

मैले जुन क्षेत्र रोजेकी छु, यसमा कहिल्यै पछुतो लागेन । अहिले त झन् ममा उत्साह थपिएको छ । केही दिनअघि मात्र बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १ सय जना प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्‍यो, त्यसमा नेपालबाट मेरो नाम पर्दा मेरो  खुसीको सीमा छैन ।  यसले पनि मलाई थप हौसला पुगेको छ । मेरो आफ्नो नामभन्दा पनि देशको नाम अगाडि आयो  भन्ने मलाई लागेको छ ।

जुन मुद्दाको लागि म लगायत हामी केही युवा लडेका थियौं, त्यो एजेण्डालाई मूल्यांकन गरेको जस्तो लागेको छ । नेपाली समाजले हेर्ने भनेको राजनीतिक अथवा निजामती कर्मचारीमा पनि ठूलो पदमा पुगेका महिलाहरूलाई हो । तर, बीबीसीले सामाजिक मुद्दा उठाएका महिलालाई अगाडि बढाएर मेरो कामको मूल्यांकन गर्दै मलाई छनोट गर्‍यो, यो नै ठूलो कुरा हो । फेरि हाम्रो समाजमा आर्थिक, सामाजिक, राजनीतिकलगायत विभिन्न विषयका मुद्दाहरू आएपनि वातावरणका मुद्दा खासै अगाडि आएको पाइँदैन ।

जबकि यो सबैको आधार भनेको वातावरण हो । वातावरण बिग्रियो हाम्रो जीवनका साथै समाज र अर्थतन्त्र पनि हुँदैन । हामीले यही कुरा बुझेर वातावरणको दिगो पक्षमा लागेका हौं । तर आजभोलि ग्लोबल्ली रूपमा यो विषयमा आवाज उठ्न थालेपछि नेपालमा पनि प्राथमिकतामा पर्दै आएको छ । हाम्रो विगतलाई हेर्ने हो भने हाम्रो जीवनशैली, हाम्रो दर्शन वातावरणसँग मिलेर बाँचेको छ । अहिले हामी यी कुराहरू बिर्संदै गएका छौं ।

वातावरण अझै पनि प्राथमिकताको विषयमा पर्दैन । यो मात्र नभई सामाजिक क्षेत्रको विषयसमेत त्यति प्राथमिकतामा पर्दैन । अहिले हाम्रा कलेजहरूमा शिक्षा संकाय, मानविकीलगायतका विषयमा विद्यार्थी पाउन मुस्किल छ । समाजशास्त्र, मानवशास्त्रलगायतका विषय कसैले पढ्नुपर्छ भनेर पनि भन्दैन र पढ्न विद्यार्थीको पनि रुचि हुँदैन । बरु पढ्ने विद्यार्थीलाई पनि सबैभन्दा कमजोरको रूपमा हेरिन्छ ।

यी विषय पढ्दा पैसा हुँदैन, भविष्य नै छैन भन्ने तरिकाबाट हेरिन्छ । अभिभावकले पनि डाक्टर, इन्जिनियर लगायतका प्रतिष्ठित विषय पढाउन बढी जोड दिन्छन् । त्यसैले पनि म डाक्टर पढ्न छोडेर यो विषय रोजेकी हुँ । आज म डाक्टर पढेको भए यो अवसर पाउने थिइनँ । मैले जति अवसर पाएँ यही क्षेत्रमा लागेर पाएकी हुँ, यसमा मलाई आज गर्व लाग्छ ।  हरेक क्षेत्रमा समस्या छन् । हरेक क्षेत्रमा समस्या समाधान गर्ने मान्छे चहिन्छ ।

सबैलाई एउटै कुरा महत्त्व लाग्छ भन्ने पनि छैन, कसैलाई कुनै क्षेत्रमा जान मन लाग्छ त कसैलाई कुनै । मलाई वातावरणको क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्यो र यो क्षेत्र रोजें । मैले यो क्षेत्र रोज्दा बुवाआमादेखि शिक्षक आफन्तहरू सबै जना खुसी थिएनन् । धेरैले डाक्टर बन्न छोडेर यो के विषय रोजेको हो ? यो पढेर अब के गर्छौ भन्ने कुरा पनि गरे । तर मेरो इच्छा यही क्षेत्रमा केही गर्ने थियो ।

मैले कुरा सबैको सुनें तर, काम आफ्नो गरें । तर अहिले आएर सबैजना खुसी हुनुहुन्छ । मलाई देखेर धेरै साथीहरूले मेरै बाटो पनि पच्छाएका छन् । केही फरक विषय पनि पढ्दा हुने रहेछ भन्ने कुराहरू पनि अहिले आएको छ । नयाँ विषय पढ्यो भने पो नयाँ बाटो बन्छ, नयाँ काम गर्ने अवसर पाइन्छ भन्ने बुझाइ अहिले हुँदै गएको छ । 

हाम्रो समाजमा कुनै पनि निर्णय सामाजिक प्रेसरले हुन्छ । समाजको प्रेसर अभिभावकमाथि, अभिभावकको प्रेसर छोराछोरीप्रति हुन्छ । समाजले कुन करिअरलाई राम्रो मान्छ, कहाँ गयो भने बढी पैसा कमाउन सकिन्छ, कहाँ जाँदा बढी इज्जत पाइन्छ भन्ने कुरामा यी सबै कुरा हुँदै आएका छन् । हामीभन्दा पहिलेको पुस्तामा सरकारी जागिर खानसम्म मात्र पढिन्थ्यो । त्यसपछि अहिलेको पुस्तामा आफ्नो छोराछोरीलाई आफ्नो रोजाइका विषयहरू पढाउनतिर बढी लगाइयो । तर अहिले कतिपय अभिभावकले छोराछोरीका चाहनाअनुसार विषय छनोट गर्छन् भने धेरैजसो विद्यार्थी अन्य फरक विषयहरू रोजेर अध्ययन गरिरहेको पाइन्छ ।

कानुन, आइटी क्षेत्रमा पनि विद्यार्थी पढिरहेका छन् । कतिपय विद्यार्थी प्रेसरमा आफ्नो मन नभएको विषय पढिरहेका छन्, जसले गर्दा उनीहरू मानसिक दबाब झेल्न बाध्य छन् ।  यसमा अभिभावक र समाजको ठूलो भूमिका हुन्छ । कुनै पनि विषय राम्रो नराम्रो भन्ने हुँदैन । हरेक विषयको आ-आफ्नो स्कोप छ । हामीलाई उद्यमी पनि चाहिएको छ, किसान पनि चाहिएको छ । एउटा समाज चल्न पेशा, उद्योग सबैथोक चाहिन्छ ।

जतिबेला हामीले समाजलाई केही लाभ दिन्छौं त्यहीअनुसार हामीले पनि केही पाउँछौं । एउटा पत्रकारले कहिले कसैले नउठाएको मुद्दा उठाएर पनि समाजलाई केही दिन सक्छ । सामाजिक अभियन्ता बनेर पनि केही गर्न सकियो, वकिल बनेर राम्रो केस जिताउन सकियो, व्यापार गरेर त्यसमा रोजगारी सिर्जना गर्न सक्यो । हरेक क्षेत्रबाट कैले दिने के हो ? त्यो कसरी दिन सक्छु र त्यो दिएवापत  के फाइदा हुन्छ ? भन्ने विषयमा सोच्न आवश्यक छ । 

मैले के दिएँ

मैले वातावरणको विषयमा आवाज उठाउँदै आएकी छु । जब मैले यो क्षेत्रमा कदम चालें त्यो बेला यो विषय उपेक्षित मुद्दा थियो । मैले दिन खोजेको सन्देश भनेको नेपालमै बसेर पनि केही गर्न सकिन्छ  भन्ने हो । राम्रो काम गर्न नेपालबाट बाहिर जान पर्दैन । नेपालमै बसेर अझ बढी गर्न सकिन्छ, आफूले समाजलाई जति गर्‍यो त्योभन्दा बढी पाउन पनि सकिन्छ भनेपछि हरेक हिसाबले नेपालमै राम्रो छ भन्ने हो ।

अर्कोको प्रेसरमा अर्काको इच्छाअनुसार चल्न पनि पर्दैन । अर्को कुरा यदि मैले यो काम अहिले सुरु गरिनँ भने सुरु हुन अझ धेरै समय लाग्ला, अथवा नहोला पनि । कपडाको झोला धेरै बिर्सिसकेको अवस्था थियो । हामी प्लाष्टिकको झोलामा गइसकेका थियौं । मैले वातावरणमैत्री पनि हुने राम्रो पनि हुने हुनाले कपडाको झोला राम्रो हुन्छ भनेर सम्झाउने काम गरें ।

यति गर्दा रोजगारी सिर्जना पनि हुन सक्छ भन्ने लाग्यो । वातावरणीय समस्या र सामाजिक समस्या मिलायो भने अर्को समाधान निस्कन्छ भन्ने कुरा पनि हामीले सिकायौं जस्तो लाग्छ । कुनैपनि उद्यम गर्दा त्यसले उद्यमसँगै समाजलाई पनि राम्रो गर्न सकिन्छ भन्ने हिसावले काम गर्‍यौं । मसँगै काम गर्ने धेरै साथीहरू अहिले आफ्नै बिजनेस गरिरहनुभएको छ ।

उहाँहरूको मान्यता पनि यही छ । समाजलाई के दिने र त्यसबाट कसरी लिने भन्नेकुरालाई मध्यनजर गर्दै काम गरिरहनुभएको छ । यतिसम्म कि डेलिभरी गर्दा पनि पेट्रोलभन्दा पनि इलेक्ट्रोनिक गाडी रोज्नुहुन्छ । यस्तो सोच राख्ने अहिले हजारौं युवाहरू छन्, यो पनि खुसीको कुरा हो । 

अब महिलाहरूको रोजगारीको कुरा गरौं । अनौपचारिक काम नपाउने, पाइहाले पनि जाँदा सुविधा नपाउने, रोजगारदाताले हेप्ने विभिन्न खालका समस्या थियो । नेपाल सरकारले अहिले पनि यो विषयमा ध्यान दिएको छैन । हामी भेट्न जाँदा पनि वैदेशिक रोजगारमा जाने महिलाहरू प्रक्रिया राम्रोसँग मिलाउन नसकेको अवस्थामा आन्तरिक कुरा त सोच्नै भ्याएको छैन भन्नुभयो । त्यो बेलादेखि नै हामीले ‘हाम्री बहिनी’ जब प्यालेसमेन्ट सर्भिस सुरु गरेका थियौं ।

यसमा करिब १४ सय दिदी बहिनीहरूलाई तालिम दिएर रोजगारदाताहरूसँग काम गर्ने घण्टा, दिने पैसा कुरा गरेर रोजगारको अवसर दिएका छौं ।  अहिले त्यस्ता धेरै संस्थाहरू आइसकेका छन् । अर्को भनेको हिमालको सरसफाइ त्यसको फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा पहिलो पटक ‘अभनी भेन्चर्स ’को थ्रु पायनर पनि गर्‍यौं । त्यस्तै, प्लाष्टिकको र्‍यापर व्यवस्थापन नहुँदा वातावरणमा नै समस्या देखिएको छ, हामीले पहिलो पटक यो व्यवस्थापन पनि गर्‍याैं ।

हामीले यस्तै कामहरू गर्दै आएका छौं । ‘हाम्री बहिनी’ सुरुवात गर्दा झोला उत्पादन गर्नेदेखि लिएर तालिम दिएर घरघरमा काम गर्नेहरू करिब १३ सय जना हुनुहुन्छ । अर्को अहिले जुन फोहोरमैला व्यवस्थापन गर्ने देशभरको नेटवर्क छ, त्यसमा तीन सयदेखि चारसय जनालाई रोजगारी दिइएको छ । उनीहरूले मासिक तलबको रूपमै काम गरिरहनुभएको छ । 

पैसाभन्दा पहिला आइडिया

कुनै पनि काम गर्न पेसा चाहिन्छ नै । तर, पैसा भएर मात्र हुँदैन । पहिले म के गर्दैछु भन्ने सोंच्नुपर्‍यो । त्यसपछि त्यसको आवश्यकता कहाँ कति छ ? यो आपूर्ति कति गर्न सक्छु भन्ने आफ्नो भूमिका के हुन्छ भन्ने थाहा पाउनु पर्‍यो । यसका लागि समय लाग्छ । मैले भर्खर पढाइ सक्दा मसँग पैसा पनि थिएन । मैले कहिले भोलेन्टियरको रूपमा काम गरें , त्यसपछि फण्डरेज गरेर पनि काम गरें ।

सुरुमा हामीले प्लान्टेसनको काम सुरु गर्दा तीनकुनेमा साथीहरूको समूह मिलेर भोलेन्टरिङ गर्दा पैसा लिन पनि गाह्रो भयो । त्यहाँ वरिपरी बैंकहरू थिए, उहाँहरूले व्यक्तिको खातामा हाल्न मिल्दैन, तपाईंहरूको संस्था चाहिन्छ भन्नुभयो । त्यसपछि संस्था चाहिँदो रहेछ, बैंक खाता चाहिँदो रहेछ भनेर संस्था दर्ता गर्‍यौं ।

मैले भन्न खोजेको पैसा भएर मात्र हुँदैन, त्यसका लागि अनुभव पनि चाहिन्छ । पैसा छ भनेपनि  एकछिन त्यो पैसा त्यत्तिकै राख्नुहोस्, त्यसमा आफ्नो विज्ञता बनाउनुहोस् र लगानी गर्नुहोस् भन्छु ।  अर्को कुरा नेपालमा केही उद्यम गर्छुभन्दा पनि कुनै पनि बैंकले पत्याउँदैनन् ।  महिलाहरूलाई उद्यम गर्नको लागि बिना धितो लोनहरू दिने भनिन्छ तर, खोज्न जाँदा थोरै रकम त्यसमा पनि अलिकति पैसा बढाउँदा  धितो अनिवार्य खोज्दो रहेछ ।

गर्नुपर्छ भनेर नै पढेको

१० देखि १२ कक्षासम्म पढ्दा म के बन्न चाहन्छु, त्यसका लागि कुन विषय पढ्ने भन्ने कुरा त्यति थाहा हुँदैन । मैले पनि डाक्टर बन्ने होला भन्नेबाहेक केही सोचेकी थिइनँ । तर पछि बुझदै जाँदा यो फिल्ड मेरो लागि होइन भन्ने लाग्यो । म गर्ने होला, कुन विषय पढ्ने होला, भनेर बुझ्दै जाँदा वातावरण विज्ञान भन्ने विषय पनि रहेछ । त्यो सुन्नेबित्तिकै मलाई चासो लाग्यो ।

त्यो विषयमा मैले बुझें- त्रिचन्द्र कलेजमा यो विषय पढाइ हुने रहेछ । मैले २-३ महिना कक्षा लिएरै पढें । १ वर्षयता एमबीबीएसको तयारी गर्दै थिएँ भने अर्कोतिर यो विषयमा पनि बुझ्दै थिएँ । त्यसपछि मैले उताको तयारी छोडेर यो विषय लिएर पढ्न थालें । वातावरणमा सबै कुरा पर्छ । पृथ्वी छैन भने हाम्रो अस्तित्व नै छैन भन्ने थाहा पाएँ र यो विषय रोजें । मेरो नेचर पनि घुम्ने भेटघाट गर्ने भएकाले पनि यो विषय रोजेकी हुँ ।

विकासले विनाश ल्याउँदै

हाम्रा केही पक्षहरू राम्रा छन् । केही सुधार गर्नुपर्ने छन् । प्रकृतिले जे दिएको छ, त्यो नेपालजस्तो कुनै ठाउँमा छैन । २३ प्रतिशत संरक्षित क्षेत्र, जंगल ,कल्चर आफ्नो जीवनशैली राम्रो छ । तर, यसलाई हामीले उपभोग गर्न जानेका छैनौं । हामीले विकासमा नाममा विनाश गरेका छौं । यहाँ भूकम्प आउँछ, मनुसनमा विपत्ति आउँछ । यो सब कारण भनेको हामीले गरेको भनेको विकासले हो ।

जताततै रोड खनेर सिमेन्टले टालेर विकास हुँदैन । खोलानाला विनाश गरेर विकास हुँदैन ।  अब बागमतीको जस्तो अवस्था हिमालमा पनि नआउलान भन्न सकिँदैन । अहिले सबै मान्छे शिक्षित छन्, पढेलेखेका छन् । उनीहरूलाई यस्ता सबै कुरा थाहा हुनुपर्ने हो तर साक्षर हुनुभनेको सबै कुरा बुझ्ने भन्ने हुँदैन रहेछ । अहिले विकासको मोडल नै विकसित देश जस्तो बनाउनु हो भन्ने आइसकेको छ ।

हामीले विकास भनेको ठूलठूला भवन हुनु पर्‍यो, उद्योग कलकारखाना हुनुपर्‍यो र सबैको घरघरमा सडक पीच हुनुपर्‍यो भन्नेमात्र ठानेका छौं । तर हामीसँग जे छ, त्यसलाई जोगाएर अरूभन्दा युनिक कसरी बन्ने भन्नेबारे कसैको ध्यान गएको छैन ।

यो देशलाई अन्य देश जस्तो होइन, नेपाललाई नेपालजस्तो बनायो भने सबैभन्दा राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो ।  यसमा अब जनप्रतिनिधि, सरकोरवाला सबैले ध्यान दिनुपर्छ । 

योजना 

यसमा ग्राउण्डमा गर्ने काम त रोकिँदैन, यो जारी नै रहन्छ । ग्राउण्डमा काम गरेको हुनाले नै यस्ता-यस्ता समस्या छन्, यसका लागि यस्तो नीति बनाउनुपर्छ भनेर भन्ने सकेका छौं । अब हामीले गर्ने बनाउने भनेको नीति हो । ग्राउण्डको कामलाई अझै राम्रोसँग बढाउन कुन नीति कसरी बनाउन सकिन्छ र यो नीतिको थ्रु कसरी नेपालभर लागू गर्न सकिन्छ भन्ने हो ।

प्लाष्टिकलाई नियन्त्रण गर्ने कुरा होस्, फोहोरमैलालाई राम्रोसँग व्यस्थापनको कुरा होस्, यसमा प्रयास निरन्तर रहन्छ र अहिले पनि नीतिगत कामहरू भइरहेका छन् । अब मलाई फोहोर र प्वालाष्टिकमा मात्र सधैंभरि अल्झिएर बस्नु छैन । यो पहिले समाधान गरौं, योभन्दा महत्त्वपूर्ण कुरा भनेको जलवायु परिवर्तनको असरले गर्दा पानीको स्रोत सुक्दै गइरहेको छ । यसकाे असर पानीमा परेको छ ।

कहीं सुख्खा छ भने कहीं पानी नै पानी । अब कसरी मुहानलाई संरक्षण गर्ने भन्नेमा केन्द्रित हुन्छु ।  समस्यालाई पहिचान गर्नुपर्‍यो । वातावपरण यस्तै हो भन्ने सोच्नुभएन । बुझेपछि सबैले यसमा आफ्नो भूमिका निभाउनुपर्छ । हाम्रो जीवनशैली सुधार्नुपर्‍यो । अर्को नीति बनाउनु सुझाव दिनुपर्‍यो । यो कोही एक्लैले गर्न सक्दैन, यसमा सबै आफ्नो ठाउँमा सचेत रहेर काम गर्नुपर्छ ।

यसमा स्थानीयतहको सबैभन्दा ठूलो भूमिका छ । फोहोरमैला व्यवस्थापन, सडक बिस्तारदेखि गिट्टी खानी प्रयोग गर्ने अधिकार सबै स्थानीय तहलाई छ । अब सुरु स्थानीय तहबाटै गर्नुपर्छ । यसको लागि सरकारले बजेट छुट्याएर स्थानीय तहलाई सहयोग गर्नुपर्छ ।

(दिगो विकास उद्यमी शिलशिला आचार्यसँग गरिएको कुराकानीमा आधारित )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.