हिल्सा-सिमकोट सडक : आर्थिक विकासको मेरुदण्डदेखि उत्तर-दक्षिणको मध्यस्थतासम्म

  २०८१ मंसिर २५ गते १४:२७     नरेन्द्र विष्ट

काठमाडौं । नेपालले चीनसँग गरेको बीआरआई सम्झौतामा कर्णालीको हिल्सा-सिमकोट सडक परियोजना अगाडि परेपछि धेरैले यो परियोजनालाई प्राथमिकताका साथ हेरेका छन् । यो परियोजनाले सार्थकता पाएमा अब उत्तर-दक्षिण जोड्ने दुई ठूला सडक करिडोर निर्माण हुनेछन् । जुन यो कर्णालीका लागि निकै महत्त्वपूर्ण परियोजनाका रूपमा लिइएको छ ।

हिल्सामा पुल निर्माण गर्ने र कर्णाली करिडोरलाई चिनियाँ सरकारले निर्माण गरिदिने गरी सम्झौता भएपछि कर्णालीबासीमा निकै उत्साह छाएको छ ।सरकारले कर्णाली प्रदेशको समृद्धिलाई मध्यनजर गर्दै हिल्सा-सिमकोट सडकलाई मुख्य प्राथमिकता दिएको छ । कर्णाली करिडोर सडक प्रदेशको आर्थिक विकासको मेरुदण्डको रूपमा पनि हेरिएको छ ।

कर्णाली प्रदेश एक कठिन भूगोल भएको प्रदेश हो । भौगोलिक विकटताका कारण हवाई यातायात माथिल्लो कर्णाली क्षेत्रमा सञ्चालनमा आउन थालेको दशकौं भएतापनि सडक यातायात पुग्न थालेको धेरै समय भएको छैन ।

कर्णाली प्रदेशकै विकट मानिने डोल्पा र हुम्ला जिल्लामा सडक सञ्जाल भर्खर मात्रै पुगेको छ भने यी जिल्लाका विभिन्न स्थानीय तहमा सडक सञ्जाल जोडिने क्रम जारी छ ।

प्रदेश राजधानी र स्थानीय तहमा सहरी सडक रिङरोड र ग्रामीण सडकहरू बन्ने क्रममा छन् । १० जिल्ला रहेको कर्णालीमा ६ वटामा कालोपत्रे सडकले जोडिएको छ भने बाँकी जिल्ला ग्रामीण धुले कच्ची र मौसमी सडक गरेर जोडिएका छन् । मुख्य गरी कर्णालीका हुम्ला, मुगु, डोल्पा र कालिकोट अति विकट जिल्लाका रुपमा परिचित छन् । तर, पर्यटकीय दृष्टिकोणले भने सुन्दर छन् । यी जिल्लाहरुमा सहजै सडक पुगेको अवस्थाामा कर्णालीको आर्थिक विकासले पनि फड्को मार्ने अनुमान धेरैको छ ।

कस्तो बन्छ सडक ?

यो सडक निर्माण सम्पन्न भएको खण्डमा कर्णालीको समृद्धि उत्तरी छिमेकी चीनसँग विस्तार हुनेछ । नेपाली र चिनियाँ पक्षसँग भएको सम्झौताअनुसार चीन सरकारले हिल्सादेखि सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण गर्नेछ ।

कर्णाली करिडोर समयमै निर्माण सम्पन्न भएको खण्डमा कर्णाली उत्तर तिब्बतदेखि दक्षिणमा भारतसम्म सिधै सडक सञ्जालसँग जोडिनेछ ।

यस्तै, कर्णालीका तीन जिल्ला हुम्ला, मुगु र डोल्पाका उत्तरी क्षेत्र चीनको तिब्बतसँग जोडिएका छन् । यी नाकाहरू पूर्ण रूपमा सञ्चालन गर्न सकिएको खण्डमा कर्णालीको व्यापार चीनको तिब्बतसँग जोडिनेछ ।

हुम्लामा तीन, मुगुमा एक र डोल्पामा एक गरी पाँच स्थानमा नाका रहे पनि हाल हुम्लाको नाम्खा गाउँपालिकास्थित हिल्सा नाकामात्रै सञ्चालनमा छ ।

कर्णाली करिडोर दक्षिण खण्ड (खुलालु-सल्लीसल्ला) र कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमकोट) २६९ किलोमिटर सडकबाहेक अधिकांश खण्डमा सडकको नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ ।

योमध्ये १२३ किलोमिटर खुलालु(सलिसल्ला दक्षिणमा खण्डमा पर्छ भने सलिसला-सिमकोट–हिल्सासम्म एक सय ४६ किलोमिटर उत्तरी खण्डमा पर्छ ।

कस्तो छ करिडोरको अवस्था ?

भूगोलका कारण कर्णालीमा सडक निर्माणको काममा निकै कठिनाइ भएको कर्णाली करिडोर उत्तरखण्ड सडक आयोजनाका निमित्त प्रमुख इन्जिनियर बेलबहादुर नेपाली बताउँछन् ।

उनका अनसार हिल्सा-सिमकोट खण्डअन्तर्गत ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा सडक निर्माण कार्य जारी रहेको छ ।

केही ठाउँमा कडा चट्टानका कारण सडक विस्तार गर्न नसकिएको निमित्त प्रमुख नेपालीको भनाइ छ । यो सडक खण्डमा हाल नियमित गाडी सञ्चालनमा रहेको उनले जानकारी दिए ।

अहिले यो खण्डमा सडक फराकिलो पार्ने, नाला, जाली, रिटेनिङ वाल तथा ग्राभेल गर्ने कार्य भइरहेको छ भने सडक स्तरोन्नतिका लागि बहुवर्षे ठेक्का स्वीकृतिको चरणमा रहेको आयोजनाका निमित्त प्रमुख नेपालीले बताए ।

‘खुलालु–सल्लीसल्ला खण्डमा एक वर्षभित्र सबै सडक ग्राभेल हुने अवस्था छ, खार्पुङलगायत खोलामा पुल अत्यावश्यक छ । उक्त ठाउँमा पुल बन्दा सिमकोटसम्म नियमित गाडी गुड्ने छन् । हिल्साबाट सिमकोटसम्म गाडी कुद्न सक्ने अवस्था छ । सिमकोटमा जग्गा मुआब्जाका कारण ६०० मिटर ट्र्याक खुलेको छैन,’ उनले भने ।

छारे भीरलगायत अप्ठ्यारा पहाड नेपाली सेनाले नै काटेर ट्र्याक खोलेको थियो । चीनतर्फबाट हिल्सा नाकासम्म कालोपत्रे सडक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.