चलचित्र भवन गैरकानुनी रुपमा सञ्चालन रहेको भन्दै बोर्डले पठायो सीडीओ र कर कार्यालयलाई पत्र

  २०८१ मंसिर २४ गते ९:०५     विकासन्युज

काठमाडौं । चलचित्र विकास बोर्डले गैरकानुनी रुपमा सञ्चालनमा रहेका सिरहासहितका ८ वटा जिल्लाका चलचित्र भवनको विषयमा जिल्ला प्रशासन कार्यालय (सीडीओ) र कर कार्यालयलाई पत्र लेखेर जानकारी गराएपछि नवीकरण नभएका र बक्सअफिसमा जडान नभएका चलचित्र भवन कानुनी प्रक्रियामा आएको जनाएको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीले गण्डकी प्रदेशअन्तर्गतका चलचित्र भवनको अनुगमन सकिएको जानकारी दिँदै आफू र बोर्डको उद्देश्य चलचित्र भवन बन्द गर्नु नरहेको बताए।

‘पछिल्लो साता दिनदेखि म आफैँ चलचित्र भवनको अनुगमनमा थिएँ । बोर्डमा दर्ता नभएका, सरकारलाई कर नतिरिरहेका र त्यहाँ प्रदर्शन भएका चलचित्रको व्यापार बक्सअफिसमा नदेखिने चलचित्र भवनलाई कानुनी दायरामा ल्याउने हाम्रो उद्देश्य हो । प्रक्रियागत रुपमा ठीक नभए चलचित्र भवन बन्दको विकल्प छैन,’ उनले भने ।

अध्यक्ष डिसीले चलचित्र विकास शुल्क नतिरेको र लुकीछिपी चलाइएका केही चलचित्र भवनलाई कारबाही गरिएको जानकारी दिए । गत साता सिराहस्थित बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनको सहयोगमा तालाबन्दी गरिएको छ ।

‘हाम्रो उद्देश्य ती गैरकानुनी रुपमा रहेका चलचित्र भवन बन्द गर्नु नभई कानुनी प्रक्रियामा ल्याएर सञ्चालन गर्न दिनु हो । उहाँहरू अटेरी हुनुभयो भने हामी निर्विकल्प हुन्छौँ । यद्यपि यो सातासम्म सबै प्रक्रियामा आउने बताउनुभएको छ,’ अध्यक्ष डिसीले भने ।

सरकारलाई कर छली गरिरहेका र निर्मातालाई समेत व्यापारको विषयमा जानकारी नहुने चलचित्र भवनलाई कुनै बहानामा नछाड्ने र कानुनी दायरामा ल्याउने अध्यक्ष डिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.