उद्योगीले सिमेन्टको मूल्य २०० रुपैयाँले बढाएपछि निर्माण व्यवसायी आक्रोशित, सरकारले खोज्यो मूल्यसूची

  २०८१ मंसिर २४ गते १३:०७     विकासन्युज

काठमाडौं । सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य बढाएपछि निर्माण व्यवसायी आक्रोशित भएका छन् । समस्यामा रहेको बेला उत्पादकले कार्टेलिङ गरेको सिमेन्टको मूल्य बढाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

निर्माण व्यवसायीले निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागले उनीहरूलाई छलफलमा बोलाएको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफल गरेको थियो । सो छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको वृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन् ।

सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरू थप अन्यायमा परेको उनको भनाइ छ । छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढ्दा यसले ठूलो समस्या सिर्जना गरेको उनको धारणा छ ।

सरकारले निर्माण व्यवसायी र उद्योगीसँगको छलफलपछि सिमेन्टको मूल्यसूची माग गरेको छ । सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले विभागमा धेरै उजुरी परेपछि मन्त्रालयमा व्यवसायीहरूसँग छलफल गरिएको जानकारी दिए । उनले निर्माण व्यवसायीको उजुरीका आधारमा के कारणले मूल्य बढाइएको हो, त्यसको कारणसहित मूल्यसूची पेस गर्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.