२०८१ मंसिर २५ गते १३:२६ विकासन्युज
काठमाडौं । नाफा वृद्धिमा तीन वाणिज्य बैंक आक्रामक देखिएका छन् । व्यवसाय विस्तार तथा ऋण असुलीमा बढी प्राथमिकता दिँदा तीन बैंकले राम्रो नाफा वृद्धि गरेका हुन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासको पहिलो महिनामा राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया र सिटिजन्स बैंकबीच नाफा वृद्धिमा प्रतिस्पर्धा देखिएको हो ।
असोजको तुलनामा कात्तिक राष्ट्रिय वाणिज्य बैंकले २६५ प्रतिशतले नाफा वृद्धि गरेको छ भने एनआईसीले २५१ प्रतिशत र सिटिजन्स बैंकले १२१ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत असोजसम्म १५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकले कात्तिकसम्म ५५ करोड २० लाख रुपैयाँको खुद नाफा गरेको छ ।
यस्तै, असोजमा ११ करोड रुपैयाँ खुद नाफा गरेको एनआईसी एशियाले कात्तिकसम्म नाफा आक्रामक रुपमा बढाएर ३८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । असोजसम्म १९ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको सिटिजन्स बैंकले कात्तिकसम्म भने ४३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकको तथ्यांकबाट देखाउँछ ।
लक्ष्मी बैंक, सिद्धार्थ, सानिमा र कुमारी, बैंकले पनि सन्तोषजनक रुपमा नाफा वृद्धि गरेका छन् । असोजको तुलनामा कात्तिकसम्म लक्ष्मीले ९९.३९ प्रतिशत, सिद्धार्थले ७४.७८ प्रतिशत, सानिमाले ६३ प्रतिशत र कुमारीले ४७.५१ प्रतिशतको नाफा वृद्धि गरेको देखिएको छ ।
ग्लोबल आईएमई, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तुलनामा कमजोर देखिएका आधा दर्जन बैंकले कात्तिकमा उत्कृष्ट कम ब्याक गरेको देखिन्छ । माछापुच्छ्रे, एभरेष्ट र एनएमबि बैंकले पनि राम्रो नाफा वृद्धि गरेका छन् ।
कात्तिकसम्म २० वटा वाणिज्य बैंकले करिब २२ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । असोजको तुलनामा बैंकहरुको खुद नाफा ३७ प्रतिशतले बढेको हो । असोजसम्म वाणिज्य बैंकहरुले कुल १६ अर्ब रुपैयाँ खुद नाफा गरेका थिए ।
कात्तिकसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले कात्तिकसम्म २ अर्ब ६९ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ भने ग्लोबल आईएमईले २ अर्ब ११ करोड ४० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
एक महिनाको अवधिमा नबिल बैंकको ३० प्रतिशत, ग्लोबल आईएमईको ३९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको २४ प्रतिशत र प्राइम कमर्सियल बैंकको नाफा २६ प्रतिशतले बढेको छ ।
यस्तै, कात्तिकसम्म कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ, एभरेष्टले १ अर्ब ५० करोड ९० लाख, एनएमबिले १ अर्ब ४८ करोड ३० लाख, प्रभुले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १३ करोड ७० लाख, लक्ष्मी सनराइजले १ अर्ब ६ करोड ९० लाख र नेपाल एसबिआईले १ अर्ब ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
यो अवधिसम्म नेपाल बैंकले ९३ करोड ८० लाख, हिमालयन बैंकले ९१ करोड ८० लाख, माछापुच्छ्रेले ६८ करोड ९० लाख, सिद्धार्थ बैंकले ६६ करोड ७० लाख, सानिमाले ६५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.