२०८१ मंसिर २६ गते १२:३० विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेको छ ।
१२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटियो । सुदूरपश्चिमले भने पाँचौँ खेलमा ७२ रनको जित निकालेको हो । साथै सुदूरपश्चिम जनकपुरको अपराजित यात्रा तोड्दै पहिलो पराजय चखाउन सफल रह्यो । यस जितसँगै सुदूरपश्चिम नेट रन रेटका आधारमा अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । जितको लागि १२४ रनको सहज विजय लक्ष्य पछ्याएको जनकपुर १३ ओभरको पहिलो बलमा नै ५१ रनमा अल आउट भयो । यो एनपिएलमा अहिलेसम्मकै कम योगफल हो ।
यसअघि चितवनले पोखरालाई ७४ रनमा समेटेको थियो । जारी लिगमा शानदार प्रदर्शन गरेको जनकपुरले १२४ रनको लक्ष्य सहजै पूरा गर्ने अनुमानलाई सुदूरपश्चिमका बलरले गलत तुल्याइदिए । पहिलोदेखि छेटौं क्रमका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । ६ विकेट गुमाउँदा ३७ रन बनाएसँगै जनकपुरको हार निश्चित जस्तै बनेको थियो । लगातार विकेट गएपछि कुनैपनि खेलाडीले टिकेर खेल्न सकेनन् । सहज लक्ष्य हुँदा समेत जनकपुरले निराशाजनक प्रदर्शन ग¥यो । जोसुवा ट्रम्पले १३ रन बनाए । यसबाहेक कसैले पनि दोहोरो रन जोड्न सकेनन् । बलिङमा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले समान २/२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा संघर्ष गर्दै ९ विकेटको नोक्शानीमा मात्र १२३ रनको कम योगफल तयार पार्यो । सुदूरपश्चिमले शुरूवात राम्रो गर्यो । पावर प्लेमा बिना विकेटको नोक्शानीमा ४२ रन बनाएको थियो । सेफ जेब र विनोद भण्डारीले पहिलो विकेटको लागि ५५ रनको साझेदारी गरे । सेफ २१ रनमा आउट भएपछि सुदूरको विकेट पतन हुने क्रम रोकिएन । बाँकी ६८ रन जोड्ने क्रममा सबै विकेट गुमाउन पुग्यो । हर्मित सिंह १ रनमा र ओपनर विनोद ३३ रनाम आउट भए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्कासहित टिमको लागि सर्वाधिक ३३ रन बनाए । भरपर्दा ब्याटर तथा कप्तान दीपेन्द्रसिंह ऐेरी रनको खाता नखोली आउट हुँदा सुदूर थप दबाबमा पर्यो । ४ विकेटको नोक्शानीमा सुदूरले मात्र ७६ रन बनायो ।
दीपेन्द्रलाई पछ्याउँदै ब्रान्डन मकमलेन पनि ११ रनमा आउट भए । यसपछि १८ औं ओभरमा किशोर महतोले सानदार बलिङ गरे । यो ओभरमा उनले आरिफ शेख, ईशान पाण्डे र स्कट कुगेलिनलाई आउट गरे । आरिफ र स्कटले दोहोरो रन समेत छुन सकेनन् भने ईशान १७ रनमा समेटिए । सुदूरका मात्र चार खेलाडीले दोहोरो रन बनाए । बलिङमा किशोर महतोले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसैगरी शेर मल्ल र अरनिको यादवले समान २/२ विकेट लिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.