राजश्व संकलनमा १७ प्रतिशतको वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छ : अर्थमन्त्री पौडेल

  २०८१ पुष १ गते १५:२६     विकासन्युज

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक चलायमान बन्ने क्रम बढेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानको लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक दिशामा फर्किएको बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौं । मूल्यवृद्धिलाई सिमाभित्र राख्न सफल भएका छौं ।’

सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एक–एक कदमहरू चाल्दै गएको समेत अर्थमन्त्री पौडेलको भनाइ छ । उनले अर्थतन्त्रमा देखिएका पछिल्ला सकारात्मक सूचकहरु सरकारको कामको परिमाण भएको समेत दाबी गरे ।

‘बैंकको ब्याजदर एकल अंकमा आउन सम्भव थिएन,’ उनले थपे, ‘ब्याजदर एकल अंकमा ल्याउनका लागि सरकारले केही काम गरेको छ ।’

गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत वृद्धि भएको राजश्व संकलन दर चालु आर्थिक वर्षको सोही अवधिमा १७ प्रतिशत पुगेको छ । अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएपछि पुँजीगत खर्चको दायरा समेत बढेको छ । यी सबै वर्तमान सरकारको कामको प्रतिफल भएको उनको भनाइ छ ।

उनले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्चरुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए । अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने, उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उदेश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई सदुपयोग गरेर जानु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.