लोडसेडिङले उद्योगलाई आर्थिक रूपमा धेरै प्रभाव पार्छ : अध्यक्ष अग्रवाल

  २०८१ पुष ३ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् ।

बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको उद्देश्य रहेको उनको भनाइ छ ।

चार वर्षको अथक प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधि पारित गरेको अध्यक्ष अग्रवालले बताए ।

उनले मेक इन नेपालको उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग गर्ने रहेको बताए ।

परिसंघले पूर्वधारसम्बन्धी गोष्ठी र महिलाहरूलाई सक्षम बनाउने खालका कार्यक्रम गरिरहेको र त्यसबाहेक सञ्चारकर्मीहरूसँग नयाँ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरे ।

उनले भने, ‘कतिपय विषयहरू टेक्निकल हुन्छन् । त्यसमा हाम्रो मिडियाको साथीहरूलाई थाहा नभएको र निजी क्षेत्रको कुराको पनि राम्रो ज्ञान होस् भनेर सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेका हाैं । यसको सन्दर्भमा हामीले आयकर ऐन २०५८ को दफा ५७ को बारेमा छलफल गरेका छौं । जसले गर्दा विदेशी लगानी र स्वदेशी लगानीमा कहाँ समस्या आएको छ भनेर बहस गरेका थियौं । यो गर्दा एक आपसमा छलफल हुन्छ भनेर नै छलफल गरेका हौं ।’

अध्यक्ष अग्रवालले हिजो मात्रै विद्युत प्राधिकरणले लोडसेडिङ गर्ने घोषणा गरेको बताए ।

उनले भने, ‘अघिल्लो वर्ष तामाकोशी चलेको थियो, त्योबला पनि उद्योग १२ घन्टा लोडसेडिङमा बसेको थियो । अहिले तामाकोशीको बहानामा हुँदैन भन्ने कुरा कतिसम्म ठीक छ ? भन्ने छलफलको विषय हो । त्यो बेला पनि भारतबाट आयात गर्न सकिन्थ्यो तर आफूलाई नेट एक्स्पोर्टर देखाउनको लागि आयात नगरेको अवस्था थियो । लोडसेडिङले उद्योगलाई आर्थिक रूपमा प्रभाव धेरै पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.